पथरी/मोरङको कानेपोखरी–३ स्थित हरकपुरमा यही असोज ५ गते बिहान २ बजे एक घरमा आगलागी हुँदा एकै परिवारका चारजना सदस्यको मृत्यु भएको घटनाको छानबिन गर्न माग गर्दै दिइएको निवेदनलाई पथरी प्रहरीले बेवास्ता गरेको आरोप स्थानीयले लगाएका छन् ।

मृतक चन्द्रकुमार राईका जेठा दाजु रामकुमार बान्तवा राईले घटनाको तथ्य–सत्य छानबिन गरी दोषीलाई कडाभन्दा कडा सजाय दिन माग गर्दै पाँच दिनअघि इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए । घरमा आगो लागेको नभई कसैले नियोजित तरिकाले लगाएर परिवारका सबै सदस्यलाई मारेको स्थानीयको निष्कर्ष छ ।

सो घटनाको छानबिनमा प्रहरीको भूमिका कमजोेर रहेको उनीहरू बताउँछन् । बिजुलीको तार सर्ट भएर आगो लागेको भनी प्रहरी पन्छिन खोजिरहेको स्थानीय शैलेन्द्र थोक्लेनले बताए । उनले भने, ‘बिजुलीको तार बेलुका, बिहान, दिउँसो पनि त सर्ट हुनसक्छ तर सबै मस्त निद्रामा भएको बिहानको २ बजे आगो लागेको छ ।

त्यै पनि आगो एकैचोटि चारैतिर तलामाथि मात्र बलेको छ । बिजुलीको तार सर्ट हुँदा त एकतिरबाट पो आगो लाग्छ त । यो घटना नियोजित छ ।

’सबैका शव आगोले डढेको अवस्थामा सुतेकै ठाउँमा भेटिनु र मृतक चन्द्रकुमार राईको शवमुनि आलो रगतको टाटा भेटिनुले गाउँलेहरू सशंकित मात्र भएका होइनन्, उनीहरू कसैले योजना बनाएरै आगो लगाएको निष्कर्षमा पुगेका छन् । छोरा राजकुमार र छोरी रचनाले जलेको घरमै बारेर बाबुको किरिया गरेका छन् ।

बाबुआमा र फुपूको किरिया बसिरहेका बेला पूmलपातीको दिन आलो रगत गन्हाएपछि खोतल्ने क्रममा स्थानीयले आलो रगतको टाटा भेटेका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएको र प्रहरीले त्यसको फोटो खिचेर लगेको छिमेकी कृष्ण बस्नेतले बताए ।

मृतकहरूलाई खोज्ने क्रममा ५६ वर्षीय चन्द्रकुमारलाई उनी सुत्ने सबैभन्दा भित्रको कोठामा, चन्द्रकी आमा ८५ वर्षीया गंगामायालाई उनी सुतेकै कोठामा तथा भाउजू ५० वर्षीया पार्वता राई र नन्द ४५ वर्षीया विष्णुकुमारी राई तामाङ एकै ठाउँमा सुतेको अवस्थामा आगोले जलेर अवशेष मात्र फेला पारिएको थियो ।

उनीहरू टाँडे घरको एक तलामाथि सुतेका थिए । आगोले सबै जलेपछि उनीहरूको अवशेष भूइँमा पुरिएको अवस्थामा प्रहरी र स्थानीयले फेला पारेका थिए । आगो लागेपछि स्थानीयले दमकल र प्रहरीलाई फोन गरेको दुई घण्टापछि बिहानको ४ बजे मात्र पथरीको इलाका प्रहरी कार्यालयको टोली र इटहरीबाट दमकल आएको थियो ।

इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर राजन कार्कीले अनुसन्धान भइरहेको बताउँदै ढिलोचाँडो अपराधी पत्ता लाग्ने जनाए । कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले घटना शंकास्पद भएको भन्दै घटनाको यथार्थ छानबिन हुनुपर्ने माग गरे । काफ्लेले भने, ‘एउटै परिवारका चारजना मध्यरातमा जलेर मर्नु स्वाभाविक भवितव्य होइन ।

’चन्द्रकुमारको घरमा आगो लाग्दा सबैभन्दा पहिला थाहा पाउने छिमेकी ४५ वर्षीय गोविन्द बस्नेत भन्छन्, ‘केही पड्किएको आवाज आएपछि उठेर घरबाट हेर्दा दाइको घरमा आगो लाग्दै थियो ।

हारगुहार गर्दै आगोतिर गएँ । तलामाथि चढ्ने लिस्नुको ढोका हेरेँ, थुनिएको थियो । माथि गइसक्नु थिएन । आगो तलामाथि चारैतिर बलिरहेको थियो । सबै चुपचाप थिए । गोठका गाईवस्तु, बाख्रा, सुङ्गुर निकाल्न भ्याएँ ।’ उनले कसैले योजना बुनेर आगो लगाई हत्या गरेको दावी गरे । ‘यसको छानबिन हुनुपर्छ ।’ उनको भनाइ छ ।