भद्रपुर । आगामी मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि झापामा ५ लाख ८५ हजार २ सय २८ मतदाता संख्या पुगेको छ । असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ५ लाख १० हजार २ सय १६ मतदाता संख्या रहेकोमा साउन १ देखि भदौ ५ गतेसम्म निर्वाचन आयोगले १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता संकलन सुरु गरेपछि ७५ हजार १२ जना नयाँ मतदाता थपिएको हो ।
झापामा हाल २ लाख ८८ हजार ८ सय ६७ पुरुष र २ लाख ९६ हजार ३५२ महिला र ९ जना तेस्रो लिङ्गी गरी ५ लाख ८५ हजार २ सय २८ मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । झापालाइ सात वटा निर्वाचन क्षेत्र घटाएर ५ निर्वाचन क्षेत्र कामय गरेपछि ५ निर्वाचन क्षेत्रबाट पाँच जना प्रतिनिधिसभा र १० जना प्रदेशसभाका लागि निर्वाचित हुने छन् ।
यता निर्वाचन आयोगले देशभर कुल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ७ सय ३१ कायम गरेको छ । पुरुष मतदाताको संख्या ७७ लाख ७६ हजार ४ सय ९६, महिला मतदाताको संख्या ७६ लाख ५१ हजार ६५ र तेस्रो लिङ्गी मतदाताको संख्या १ सय ७० जना रहेको छ । प्रादेशिक स्वीकृत मतदाता नामावली अनुसार प्रदेश १ मा २९ लाख ९३ हजार ६ सय ६९, प्रदेश २ मा २७ लाख ६७ हजार ३ सय ६९, प्रदेश ३ मा ३० लाख ७४ हजार ४ सय १२, प्रदेश ४ मा १५ लाख ६८ हजार ८ सय २९, प्रदेश ५ मा २७ लाख ४० हजार ८ सय ४८, प्रदेश ६ मा ८ लाख ४६ हजार ९ सय ३३ र प्रदेश ७ मा १४ लाख ३५ हजार ६ सय ७१ मतदाता रहेका छन् ।
झापामा खटाइएका निर्वाचन अधिकृतहरु
निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि झापा जिल्लामा पाँच जना निर्वाचन अधिकृत खटाउने भएको छ । झापा जिल्ला अदालत भद्रपुरका जिल्ला न्यायाधीश खिलानाथ रेग्मीसहित पाँच जना निर्वाचन अधिकृत तोकेर खटाउने भएको हो । मुख्य निर्वाचन अधिकृत रेग्मीले झापा क्षेत्र नम्बर ३ लगायत पाँच वटै निर्वाचन क्षेत्रको सहजिकरणमा मुख्य भुमिका निर्वाह गर्ने छन् ।
आयोगले असोज १९ गतेदेखि लागु हुने गरी तोकिएका निर्वाचन अधिकृततर्फ सर्वोच्च अदालत काठमाडौका इजलास अधिकृत शिवप्रसाद पराजुलीलाई क्षेत्र नम्बर १, सर्वोच्चका उपरजिष्ट्रार इन्दिरा शर्मालाई क्षेत्र २, सर्वोच्चका इजलास अधिकृत प्रेम खड्कालाई क्षेत्र नम्बर ४ र इजलास अधिकृत शकुन्तला कार्कीलाई क्षेत्र नम्बर ५ मा खटाइएको छ ।
तोकिएका मुख्य निर्वाचन अधिकृतसहित पाँचै जनालाई काभ्रे जिल्लामा यही २४ र २५ गते दुई दिने निर्वाचन व्यवस्थापन तथा सञ्चालन विषयक प्रशिक्षण दिइने निर्वाचन आयोगले जनाएको छ ।