भद्रपुर । हवाई यात्रुको सरसामान चेकजाँचमा कठिनाईलाइ मध्यनजर गरि झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा एक्सरे मेसिन जडान हुने भएको छ । मेसिन जडानका लागि आवश्यक तयारी पूरा समेत भएको विमानस्थलले जनाएको छ । नेपाल नागरिक उडड्यान प्राधिकरण केन्द्रिय कार्यालयले चन्द्रगढी विमानस्थलमा एउटा आधुनिक स्तरीय एक्सरे मेसिन उपलब्ध गराएपछि यस्को प्रयोग हुने भएको हो । ५० लाख मुल्य पर्ने सो एक्सरे मेसिन यात्रु कक्षमा जडान भइसकेको नागरिक उड्डयान कार्यालय भद्रपुरका प्रमुख पुर्णप्रसाद चुडालले जानकारी दिए । मेसिनको उद्घाटन बुधवार विहान झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले गर्न कार्यक्रम तय भइसकेको कार्यालय प्रमुख चुडालले बताए । मेसिन सञ्चालनका लागि तीन जना प्रहरीलाई आवश्यक तालिम प्रदान गरिसकेको र उनीहरुले नै मेसिनबाट सरसामान चेकजाँच गर्न उनले बताए । २०३६ सालमा स्थापना भएको विमानस्थलमा अहिले सम्म प्रहरीले हेड सेफबाट यात्रुको सरसामान चाँज गर्दै आइरहेका थिए । चाडपर्वको बेला यात्रुको चाप बढेसँगै बुद्ध, यती, सोर्य, नेपाल एयरलाइन्स र श्री एयरलाइन्सले काठमाडांै–भद्रपुर–काठमाडौं दैनिक १० देखि १२ जहाजले सेवा दिदै आएको विमानस्थलले जनाएको छ ।