धरान/धरान–धनकुटा सडक अन्तर्गत धरान–१३ स्थित निशाने खोला नजिकै पहिरोका कारण सडक बिच्छेद हुँदा दैनिक एक करोड मूल्य बराबरको सब्जी आपूर्ति ठप्प भएको छ । जसको असर धरानका सब्जी बजारहरुमा प्रष्ट देखिन थालेको छ । पहाडी क्षेत्रबाट आपूर्ति हुने कृषिजन्य बस्तुहरु विशेष गरी हरियो सागसब्जी ठप्प हुँदा यतिखेर हरियो सब्जीको भाउ एकाएक आकासिएको हो । अहिले अधिकांस हरियोसब्जीहरु पहाडी क्षेत्रबाट भित्रिने गरेको व्यवसायीहरु बताउँछन् । धरानमा संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटाका सब्जीहरु आइपुग्ने गरेका छन् । तर, बिहीबारको अविरल वर्षाका कारण धरान–१३ स्थित निशाने खोला नजिकै पहिरो जाँदा दैनिक आपूर्ति हुने सब्जीहरु ठप्प भएका छन् । भरियाको भरमा सब्जी आपूर्ति गर्नुपर्दा निक्कै महंगो मूल्य तिरेर थोक (होलसेल) पसलबाट खरिद गर्नु परेको खुद्रा व्यवसायी मनोज श्रेष्ठले बताए । ‘पहाडबाट आउने हरियो सब्जीको सबैको भाउ बढेको छ ।’ उनले भने । पहाडी क्षेत्रबाट दैनिक १२५ मेट्रिक टन भन्दा बढी हरियो सागसब्जी दैनिक आइपुग्ने गरेको कृषि उपज बजार स्थलले जनाएको छ । बजार स्थलका अनुसार मूला, इसकुस, साग, धनिया, बन्दाकोपी, गाजर, फूलकोपी, निगुरो, सिमी, खोर्सानी, पहाडे आलु, काक्रो, टमाटरलगायतको सब्जी भित्रिने गरेको छ । त्यस्तै फलको रुपमा नासपाती पनि यतिखेर पहाडी क्षेत्रबाटै आउने गरेको छ । ‘तराईबाट भन्दा यतिबेला पहाडबाट हरियो सब्जी धेरै आउने गरेको छ ।’ कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले भने, ‘यताबाट प्याज, आलुहरु मात्रै पहाडी क्षेत्र तिर जाने गरेको छ ।’ उनका अनुसार दैनिक बजार स्थलबाट ५० मेट्रिक टनको हाराहारीमा आलु, प्याज, लसुनलगायतका सब्जीहरु पहाडी क्षेत्रमा जाने गरेका छ । पहाडी क्षेत्रबाट आउने सब्जीहरु सहज रुपमा आउन नसक्दा अहिले प्रतिकेजी ५० रुपैया पर्ने सिमीको मूल्य ८० रुपैया प्रतिकेजी पर्न थालेको छ । त्यस्तै ७०–८० रुपैया प्रतिकेजी पर्ने टमाटरको मूल्य १२० रुपैया पुगेको छ । यस्तै गरी ६० रुपैया प्रतिकेजी बिकिरहेको खोर्सानी अहिले १०० रुपैयाले बिक्री भइरहेको छ । ६० रुपैपा प्रतिकेजी डुकु निगुरोको मूल्य अहिले १०० रुपैया पुगेको व्यापारीहरु बताउँछन् । ‘भरियाको कारणले मूल्य हाइ भएको हो ।’ श्रेष्ठले भने । त्यस्तै ५० रुपैया प्रतिकेजी काक्रोको मूल्य अहिले ८० रुपैया पुगेको छ । एकसय रुपैया प्रतिकेजी मूल्य पर्ने फूलकोपीको मूल्य १२० रुपैया माथि पुगेको छ । विशेष गरी धनकुटा र तेह्रथुमबाट सब्जीहरु आउने गरेको छ । जुन निशाने खोला मास्तिरको पहिरोले गर्दा अहिले सम्पूर्ण सामग्री आउन ठप्प भएको छ । त्यस्तै पहाडी जिल्लामा जाने अन्य सामग्रीहरुसमेत यताबाट जान नसकेको बजार स्थलले जनाएको छ । ‘यताबाट पठाउने सामानहरु पनि पहाडी जिल्लामा पठाउन सकेका छैनौं ।’ व्यवस्थापक भट्टराई भन्छन्, ‘अहिले सबैजसो सामग्रीहरु ठप्प छन् ।’ पहाडी क्षेत्रबाट आउने सब्जीहरु धरानमा करिव ४० प्रतिशत मात्रै खपत हुने गरेको यहाँबाट इटहरी, विराटनगर, विराटचौक, इनरुवा, सप्तरी, सिराहा, पथरी, उर्लाबारी, दमकलगायतको बजारहरुमा जाने गरेको छ । ‘४० प्रतिशत यहाँ खपत हुँन्छ भने ६० प्रतिशत अन्तै जाने हो ।’ व्यापारी ज्ञानु बस्नेत भन्छन् । उनका अनुसार माल आउन नसकेको कारण सामानहरु बेच्न कठिनाई भएको छ । ‘मालै आउँदैन के बेच्ने ?’ उनले थपे । कृषि उपज बजार स्थलमा आउन नसक्दा तराईका क्षेत्रहरुमा अहिले सागसब्जीहरु जान सकेको छैन् । अहिले सबै भरियाको भरमा सागसब्जीहरु ढुवानी गर्नु परेकाले पनि सब्जीको भाउ महंगिएको व्यापारीहरुको तर्क छ ।