ओबामाको पहिरन शैलीको न त धेरै प्रशंसा भयो न नै आलोचना नै । जोन एफ केनेडीपछि सबैभन्दा राम्रो पहिरन लगाउने राष्ट्रपतिको रुपमा उनलाई लिइन्छ ।
तर उनकी श्रीमती मिशेल ओबामाले उनीबारे निकै रोचक कुरा सार्वजनिक गरेकी छिन् । उनका अनुसार ओबामालाई उनको कालो कोट यति मनपर्दथ्यो कि उनले आठ वर्षसम्म एउटा मात्र टक्सेडो ज्याकेट लगाए ।
मिशेलले आफ्नो पहिरनबारे विभिन्न टिका–टिप्पणी हुने गरेपनि श्रीमानले ह्वाइट हाउसको आठ वर्षको कार्यकालमा एउटै सुट लगाउँदा पनि कसैले पनि याद नगरेको उनी बताउँछिन् ।
मिशेलले गत मंगलबार एप्पलको वर्ल्डवाइड डेभलपर्स कन्फरेन्समा यसबारे खुलासा गरेकी हुन् ।
‘अहिले मानिसहरुले मैले लगाएको जुत्ताको फोटो खिच्छन्, मेरो ब्रासलेट, मेरो नेकलेस याद गर्छन् तर तिनै व्यक्तिहरुले उनले आठ वर्षसम्म एउटै कोट र जुत्ता लगाउँदा पनि केही प्रतिक्रिया दिएनन् ।’
‘उनी यसका लागि गर्व पनि गर्दथे । १० मिनेट भित्रै उनले ‘म त तयार भएँ । तिमीले कति समय लगाएको ’ भन्ने गर्दथे, मैले भने उनलाई तत्काल त्यहाँबाट हटाइदिन्थें ।’