हिल्ला (इराक)/इराकको दक्षिणी बग्दादमा पर्ने मुसायीब शहरमा शुक्रबार भएको आत्मघाती बम हमलामा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम तथा सुरक्षाश्रोतले जनाएका छन् । एक जना हमलाकारीले मुसायीब शहरमा आत्मघाती विस्फोट गराउदा २० जना आम नागरिकले शाहदत प्राप्त गरेका गृह मन्त्रालयका एक जना प्रवक्ताले जनाएका छन् । राजधानी बग्दाद देखि झण्डै ६० किलोमिटर दक्षिण तर्फ पर्ने ठाँउमा भएको विस्फोटनको घटनामा परी कम्तीमा ३४ जना घाइते भएको स्थानीय प्रहरी अधिकारी र अस्पतालका स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् । घाइते मध्ये चार जनालाई गम्भीर चोट लागेको स्वास्थ्यकर्मीहरुको भनाई छ । घटना स्थानीय समय अनुसार विहान ११.३० मा भएको थियो । दक्षिण पश्चिममा पर्ने अर्को शहर कार्बालाको सिया समुदायकोे पवित्र धार्मिकस्थल आक्रमणको प्रयास विफल भएको एक घण्टापछि मुसायीबमा आक्रमण भएको हो । शहरमा प्रवेश गर्ने बसपार्कमा शुक्रबार विहानै भएको सो आत्मघाती हमलामा परी चार जना घाइते भएको प्रहरी श्रोतले जनाएको छ । दुवै घटनाको ईस्लामिक स्टेट (आईएस) जिहादी समुहले उसको प्रचार गर्ने निकाय अमाक एजेन्सी मार्फत् जिम्मेबारी लिएको छ । आईएस लडाकुहरुले मुस्लीम समुदायको एक महिने व्रत रमजान सुरु भएदेखि सर्वसाधारणलाई लक्षित गरी आक्रमणलाई अझै तीव्रता दिन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । रमजान सुरु भएको केहीदिन पछि मे ३० तारिखका दिन बग्दादको मध्यभागमा रहेको एउटा आइसक्रिम पसलमा भएको हमलामा ४० भन्दा बढीको मृत्यु भएको थियो । रासस/एएफ्पी