मलंगवा / शिक्षिक नियुक्तिका लागि घुस लिँदै गर्दा सर्लाहीको लालबन्दीमा दुई उप जिल्ला शिक्षा अधिकारीसहित चार जनालाई अख्तियारको टोलीले बिहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला शिक्षा कार्यालय सर्लाहीका उप जिल्ला शिक्षा अधिकारी रामहरी रिजाल, वासुदेव तिमल्सिना, जनज्योती उच्च माध्यमिक विद्यालय लालबन्दीका प्रधानाध्यापक बिष्णुबहादुर पोखरेल र सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद न्यौपाने रहेका छन् ।
२०५४ सालदेखि सोही विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक चन्द्रप्रकाश पौडेललाई अनुदानको कोटामा जागिर लगाई दिन्छु भन्दै चार लाख घुस लिएको अख्तियारले जनाएको छ ।
घुस लिँदै गरेको अवस्थामा बर्दिबास महोत्तरीबाट खटेको अख्तियारको टोलीले रंगेहात उनीहरुलाई पक्राउ गरेको छ । लालबन्दीकै एक होटल भित्र लिनदेन गर्दै गरेको अवस्थामा अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुसँग अहिले होटल भित्रै सोधपुछ भइरहेको छ । आवश्यक अनुसन्धानका लागि चारै जनालाई अख्तियारको केन्द्रीय कार्यालय पठाउने तयारी भैरहेको छ ।