काठमाडौं/ फ्रान्समा अत्यन्त पातली मोडलमाथि प्रतिबन्ध लगाउने नयाँ कानुन पारित भएको छ ।

खानामा अरुची हुनेलगायतका समस्याका कारण उत्पन्न हुने ‘एनोरेक्सिया’ नामक रोगसँग लड्न यस्तो कानुन पारित गरिएको बताइएको छ ।

नयाँ कानुनअनुसार अब फेसन मोडलले आफ्नो स्वास्थ्यसँग जोडिएका विषयको सबै जानकारी रहेको चिकित्सकबाट प्रमाणित सर्टिफिकेट तयार पार्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यसमा उचाई र तौलकाबारेमा स्पस्ट जानकारी उल्लेख गर्नुपर्दछ । यसले अत्यन्त पातली मोडल फेसन इभेन्टमा भाग लिनबाट रोक्नेछ ।

नयाँ कानुन उल्लंघन गर्ने कम्पनीलाई ७५ हजार युरो जरिवाना र ६ महिनासम्म जेल सजायको व्यवस्था गरिएको छ ।

यसअघि, इटाली, स्पेन र इजरायलमा पनि यस्तो कानुन लागू भइसकेको छ । फ्रान्समा एनोरेक्सियाबाट प्रभावित करिब ४० हजारमध्ये ९० प्रतिशत महिला छन् । (एजेन्सी)