धरान/रुकुममा बिहीबार दिउँसो नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको छ ।जिल्लाको बाँफिकोट गाउँपालिका–६ मा झडप हुँदा आठजना घाइते भएका छन् । झडपका क्रममा नेपाल तरुण दलका तीन र वाइसिएलका पाँचजना कार्यकर्ता घाइते भएको बताइएको छ ।   नेपाली काँग्रेसनिकट नेपाल तरुण दलको आन्तरिक बैठक बसिरहेको अवस्थामा वाइसिएलले आक्रमण गर्न खोजेको आरोप तरुण दलका वडाध्यक्ष उम्मेदबार विनोद कुसारीले जानकारी दिए । तर, माओवादीले भने आफ्ना कार्यकर्ता बाटोमा हिँडिरहेको अवस्थामा तरुण दलले आक्रमण गरेको बताएको छ । झडपका क्रममा तरुण दलका हरि बस्याल, धनबहादुर विक, रवि केसी र वाइसिएलका प्रचण्ड केसी, प्रकाश ओली, विवेक विक, आकाश परियार र नरबहादुर पुन घाइते भएको बताइएको छ । घाइतेको अवस्था सामान्य रहेको भएपनि थप घटना नहोस् भनेर त्यस क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले बताएको छ ।