चितवन/चितवनको रत्ननगरस्थित कुमाल तालमा नयाँ चरा फेला परेको छ ।
बर्ड एजुकेसन सोसाइटी, चितवनका अनुसार ‘ठूलो धाबके हावा चिल’ (Great White Pelican) नामको नयाँ चरा पहिलोपटक जिल्लामा अभिलेख गरिएको चरा विज्ञ वासु बिँडारीले जानकारी दिए। मुख्यगरी यो चराले भारतको गुजरातमा बच्चा कोरल्ने गर्छ । यो बाटो बिराएर आउने आगन्तुक चरा भएको सोसाइटीका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिए। यो चरा नेपालको पूर्वी भाग कोसी क्षेत्रमा १५ वर्षअघि देखिएको थियो । त्यसपछि देखिएको थिएन । यो चरा चितवनको कुमाल तालमा आइतराम दराईले पहिलोपटक देखेका थिए । त्यसको पुष्टि गर्न सो क्षेत्रमा जिल्लाका चरा विज्ञहरु टीका गिरी, बासु बिँडारी, टेकबहादुर गुरुङलगायतको टोली बिहीबार सो क्षेत्रमा गएका थिए । उक्त टोलीले ‘ठूलो धाबके हावा चिल’ चितवनका लागि नयाँ भएको पुष्टि गरेको हो ।
जिल्लामा योसहित कुल ६३५ प्रजातिका चरा अभिलेख गरिएको छ । नेपालमा अहिलेसम्म ८८७ प्रजातिका चरा भेटिएका छन् । नेपालमा पाइनेमध्ये अधिकांश चरा चितवनमा पाइन्छन् । त्यसकारण चितवन चरा पर्यटनमा अब्बल छ । चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्र तथा पहाडी क्षेत्रमा चराको राम्रो वासस्थान रहेको चरा विज्ञ टीका गिरी बताउँछन्। पाँच वर्षको अन्तरालमा चितवनमा आधादर्जनभन्दा बढी नयाँ चरा फेला पारिएको जनाइएको छ । यस जिल्लामा साइबेरियालगायत क्षेत्रबाट बसाइँ सरेर र बच्चा कोरल्नका लागि पनि चरा आउँछन् ।