नयाँ दिल्ली / भारत र अस्ट्रेलियाबीच आताङ्कवाद विरोधी सहकार्यलाई मजबुत बनाउने लगायतका विभिन्न छ सम्झौतामा सोमबार हस्ताक्षर भएको छ ।

भारत भ्रमणमा रहेका अस्ट्रेलियाली प्रधानमन्त्री मालकम टर्नबुलसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्झौताका विषयमा गहन छलफल पछि सम्झौतामा हस्ताक्षर गरिएको भारतले बताएको छ ।

सम्झौता हस्ताक्षर भएपछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलन गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने, “अस्ट्रेलिया र नयाँ दिल्लीले द्विपक्षीय सम्बन्धका सम्पूर्ण विषयलाई समीक्षा गर्दै दुई देशबीचको साझा विषयमा सहकार्यका लागि अग्रगामी निर्णयहरु लिन केही नयाँ सम्झौतासमेत गरिएको छ ।”

सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले भारत प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वका विषयमा जोड दिँदै आतङ्कवाद र साइवर सुरक्षाका लागि विश्वव्यापी रणनीति र समाधान खोजिनुपर्ने बताए ।

त्यसैगरी अस्ट्रेलियाली प्रधानमन्त्री टनबुलले आफ्नो मुलुकले भारतसँगको मजबुत एवम् सुमधुर सम्बन्धका लागि थप निकटमा रहेर काम गर्ने बताए।

मेरो भारत भ्रमणले यसअघि मजबुत एवम् मित्रवत् रहँदै आएको सम्बन्ध थप मजबुत बनेको छ, टर्नबुलले संयुक्त पत्रकार सम्मेलनका क्रममा बताए ।

टर्नबुलले आफ्ना भारतीय समकक्षीले भारतमा आर्थिक प्रगति र विसकासका लागि गरेको नेतृत्व प्रशंसनीय भएको बताउनुभयो । भारतको सफलता विश्वका लागि प्रेरणाको स्रोत बनेको भन्दै अस्ट्रेलियाले धेरै विषयमा भारतसँग सम्बन्ध जोड्न चाहेको बताए।

टर्नबुल आफ्नो चारदिने भारत भ्रमणका क्रममा आइतबार साँझ नयाँ दिल्ली आएका हुन् ।