नवलपरासी/ हिन्दु परम्परामा मृत्यु भएको १३ दिनमा काज किरिया सक्ने चलन छ । तर नवलपरासीको मध्यविन्दु १ (साविक कोल्हुवा ३)का जीवन प्रकाश थारुको घरमा किरिया बस्न थालेको २० दिन भैसक्यो ।
जीवनका बुबा विकाराम थारुको स्वास्थ्य ठिकै थियो । घरमा खेतीपाती गर्दै आएका बिरामी पर्न थाले । प्रेसर बढ्दै जाँदा प्यारालाइसिस भयो ।
मलेसिया रहेका जीवनले फोन मार्फत बुबाको स्वास्थ्य अवस्थाबारे जानकारी पाइ रहेका थिए। उपचारका लागि पैसा पनि पठाउने गरेका थिए । तर उपचार लागेन ।
२००८ माघ २८ गते जन्मिएका विकाराम थारुको गएको फागुन २५ गते ६५ वर्षको उमेरमा निधन भयो । उपचार गरेर बाबुलाई निको बनाउने जीवनको धोको थियो । तर त्यो धोको पूरा हुन सकेन ।
साढे चार वर्ष अघि मलेसिया गएका जीवन प्रकाश थारुले अन्तिम समयमा बुबाको मुख हेर्न पनि पाउनु भएन । गएको साउनमा खेतीपाती सकेर मलेसिया गएका जीवनले छुट्टि मिलाएर आउन पाएका थिएनन् । उतै भिसा थपेर बसिरहेका थिए ।
विकारामको निधन भएपछि किरिया बस्ने कुरामा गाउँमा ठूलै छलफल भयो । विकरामका एकमात्र छोरा जीवन मलेसियामा थिए । घरमा छोरा नभएपछि मृतक विकारामका माइला भाइ सुकराम थारु किरिया बसे । त्यसबेलाका कुरा सम्झदै विकारामका भान्जा योगेन्द्र थारुले भने ‘समाजको रितिरिवाज संस्कार मान्नै पर्यो ।’ मलेसियाको जोरबान युपिनमा मोडल टिम्बर कम्पनीमा काम गर्ने जीवन बुबाको मृत्युको खबरले बेचैन थिए। किरिया बस्न घर फर्कने निधो गरेका उनलाई भनेको बेला कम्पनीले छुट्टि दिएन । काममा जीवनको मन जान छाड्यो । त्यसपछि कम्पनीका साथीहरुले विदा दिनुपर्ने भनेर कम्पनीमा दवाव दिन थाले । अन्ततः उन बुबाको मृत्यु भएको १२ औं दिनका दिन घर आइपुगे । साढे चार वर्षसम्म बाबुआमा, श्रीमती, छोराछोरीको मुख देख्न नपाएका उनको आगमनले घरमा खुसी छाउनु पर्नेमा रुवाबासी चल्यो । जीवन गएको ८ दिन देखि बुवाको किरिया बसिरहेका छन् । आमा सुमित्रा मर्दनियाले भने ‘सोमबार २० दिन भयो किरिया बसेको । घर नै उराठ लाग्दो बनेको छ । किरियापुत्रीलाई कुरेर बसेका भान्जा योगेन्द्र थारुले समयमा नै किरिया बस्न नपाउने धेरै नेपालीको बिडम्बना रहेको सुनाए। लेवी वापत १६ सय काट्ने नै भएपनि जीवन आफैं आतेजाते टिकट काटेर बिदा मिलाएर आउनु भएको हो । फर्केर नआउने हो कि भनेर ३५ सय रिंगिट मलेसियन कम्पनीले नै राखेको छ । ‘नियम नै त्यस्तै बनाएको छ । यस्तो बेला फर्कन नेपालीलाई बहुतै गाह्रो ।’ किरिया बसिरहेका जीवनले सुनाए । दुई महिनाको छुट्टिमा नेपाल आएका उनले फेरि मलेसिया फर्कनै पर्ने बाध्यता रहेको बताए । विदेशमा रहेका धेरै नेपालीको जीवनको जस्तै बाध्यता छ । भनेको बेला छुट्टि नपाउँदा किरिया बस्ने मिति सार्नुपर्छ । परदेशीलाई त गाह्रो छँदैछ, समयमै चोखिने काम गर्न नपाउँदा घरमा बस्नेहरुको पिडा पनि लम्बिएको छ ।
































