संयुक्तअरब इमिरेट्स युएईस्थित दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट तपाई नेपाल जाँदै हुनुहुन्छ ? यदी हुनुहुन्छ भने विमानस्थलको नयाँ निमयप्रति जानकार रहनै पर्छ । गत वुधबार अर्थात (मार्च ८) देखि लागु हुने गरि दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट सवार गर्दा डोरीले बाँधिएका झोला, गुन्टा र कार्टुनका सामान लैजान प्रतिबन्ध गरिएको छ ।
सुरक्षा र लगेज व्यवस्थापनमा सहजका लागि भन्दै यस्तो नियम बनाइएको विमास्थलमा कार्यरत एक कर्मचारीले बताए । कुनै पनि यात्रुहरूले झोला, गुन्टा वा कार्टुन लैजाँदा डोरीले बाँधेर लान नपाईने, ठूला लगेजमा समेत डोरीले बान्न वा बेर्न नहुने साथै झोलाको साइज पनि मध्यम साइजको हुनुपर्ने नियममा उल्लेख गरिएको छ ।
नियम परिवर्तन भएपछि एयरलाइन्स कम्पनीहरुले आफ्ना यात्रुहरुलाई लगेजमा डोरीले बाँधेका गुन्टा, कार्टुन नबनाउन आह्वान समेत गरेका छन् ।
यता युएईमा उडान भरिरहेको नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर रमेश पौडेलले डोरीले बाँधेका लगेज लैजान नपाइने भएकोले यस्ता सामानहरू नल्याउन सबै नेपालीहरूलाई आग्रह गरेका छन् ।
बिशेष त यो नयाँ नियमले नेपाली कामदारहरूलाई ठूलै मर्का पर्ने देखिन्छ । यसको अलवा नेपालीसहित नजिकैका देशहरू भारत, पाकिस्तान, बंगलादेशी नागरिकहरू प्रभावित हुनेछन् ।