अबुधाबी/विवाहअघि नै यौन सम्बन्ध राखेको आरोपमा युएईमा विदेशी एक जोडीलाई जेल हालिएको छ।
युएईमा काम गर्दै आएका सो जोडीलाई गत जनवरीदेखि नै हिरासतमा राखिएको भए पनि हालै यो मामला प्रकाशमा आएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।
२९ वर्षीय दक्षिण अफ्रिकी नागरिक एमलिन कल्वरवेल र २७ वर्षीय युक्रेनी नागरिक इरिना नोहाइलाई विवाहअघि नै शारीरिक सम्बन्ध राखेको आरोपमा पक्राउ गरिएको हो। यी दुबै आपसमा प्रेम सम्बन्धमा रहेको बताइएको छ।
युएईमा विवाहपूर्व शारीरिक सम्बन्ध राख्नु अपराध मानिन्छ।
पेटमा समस्या भएका कारण स्वास्थ्य परीक्षण गराउन गएकी इरिना गर्भवती भएको रहस्य खुलेपछि उनी कानूनी कारवाहीको दायरामा तानिएकी हुन्। गर्भवती भएका कारण छानविनको दायरामा तानिएपछि एमलिन र उनीबीचको सम्बन्ध प्रकाशमा आएको हो।