महोत्तरी/ दुई महिना पहिले निर्माण सुरु भएको बर्दिवास–२ महोत्तरीमा रहेको एकीकृत नमुना मुसहर बस्तीको ७५ प्रतिशत काम सकिएको छ ।

बस्ती निर्माण व्यस्त रहेका फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले नयाँ वर्ष अर्थात् वैशाख १ गते मुसहर समुदायलाई स्तान्तरण गरिने बताए ।

‘हामीले सोचेभन्दा छिटो काम भइरहेको छ’ उनले भने ‘निर्माण कार्यमा साथ र सहयोग गरी हौसला दिनुहुने सम्पूर्णलाई धन्यवाद दिन चाहान्छौ ।’

निर्माण कार्य भइरहेको समयमा पनि सहयोग रकम उठ्ने कार्य जारी रहेको उनको भनाई छ । फाउण्डेशनका लेखा अधिकृत सरोज जङ्ग खत्रीका अनुसार हालसम्म फाउण्डेशनलाई दुई करोड १० लाख अनुदान प्राप्त भएको छ ।

उक्त रकम कृषि विकास बैङ्कमा रहेको एक करोडसहित फाउण्डेशनसँग तीन करोड १० लाख रुपैयाँ रहेको छ । फाउण्डेशनले दुई करोड १५ लाख रुपैयाँ भन्दा बढी खर्च गरिसकेको छ ।

निर्माण सामाग्री खरिदको ९० लाख बराबर भन्दा बढी रकम भुत्तानी गर्न बाँकी रहेको छ । गिराञ्चौरबाट बचेको एक करोड सहयोगसहित फाउण्डेशनले करिब तीन करोड रुपैयाँ भन्दा बढी रकम निर्माण कार्यका लागि खर्च गरिसकेको छ ।

बस्ती निर्माणका लागि चार करोड ७८ लाख रुपैयाँ लगानीको अनुमान गरिएको छ । निर्माणका लागि फाउण्डेशनलाई अझै एक करोड ६५ लाख रुपैयाँ भन्दा बढी सहयोग आवश्यकता रहेको छ ।

निर्माणाधिन मुसहर बस्तीको भित्ता उठाउने काम सकिएको छ । छानो छाउने, बाटो–घाटोसहित विद्युतीय काम र रङ्गरोगनको कामहरू बाँकी रहेको छ ।

बस्ती निर्माणका लागि विभिन्न सङ्घ संस्था तथा ब्यत्तिगत रूपमा केही स्वमंसेवकहरु निरन्तर काममा खटिरहेका छन् ।