काठमाडौं/ ‘लुट-२’ ले दुई दिनमा ३ करोड भन्दा धेरैको कलेक्सन गरेको छ । फागुन १३ गते शुक्रबार रिलिज भएको सिनेमा ‘लुट-२’ ले सुरुवाति दुई दिनमै तीन करोडको कारोबार गर्दै दुई दिनमा अहिलेसम्मकै धेरै कमाउने सिनेमा बनेको छ ।

शिवरात्रीको अवसर पारेर रिलिज गरिएको सिनेमा अहिले काठमाडौंका सबै हलहरु र काठमाडाैं बाहिरका ८० वटा हलमा चलिरहेको निर्माता नरेन्द्र महर्जनले जानकारी दिएका छन् ।

महर्जनले शुक्रबार सिनेमाले कमाएको वास्तविक तथ्य नबाहिरिएको तर शनिबार सिनेमाले एक करोड ५० लाखभन्दा माथिको व्यापार गरेको बताएका छन् ।

निश्चल बस्नेतको निर्देशन अनि नरेन्द्र महर्जन र माधव वाग्लेको निर्माण रहेको ‘लुट–२’ मा दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, विपिन कार्की, सिर्जना सुब्बा, प्रतिकराज न्यौपाने लगायत कलाकारको मुख्य भूमिका छ ।

तोड्यो छक्का पञ्जाको रेकर्ड

‘लुट–२’ दुई दिनमा तीन करोड भन्दामाथिको ग्रस कलेक्सन गर्दै  छोटो समयमा नेपाली सिनेमामा धेरै कमाउने सिनेमा बनेको छ । यो भन्दा पहिले सिनेमा छक्का पञ्जाले दुई दिनमा एक करोड ७५ लाखको ग्रस कलेक्शन गर्दै सुरुवाति दुई दिनमा सबैभन्दा धेरै कमाउने सिनेमा बनेको थियो ।

तर ‘लुट–२’ ले दुई दिनमै तीन करोड भन्दा धेरैको व्यापार गरेर छक्का पञ्जालाई पहिलो स्थानबाट रिप्लेस गरेको छ । त्यस्तै ‘लुट–२’ को ट्रेलर र गीतले पनि छोटो समयमै धेरै दर्शक पाएर छक्का पञ्जाको रेकर्ड तोडिसकेको छ ।