इटहरी /  शिवरात्री मेलामा बेलुन फुलाउन प्रयोग गरिएको ग्याँस सिलिण्डर पड्कदा सुनसरी सिमरियामा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार पौने ११ बजे सुनसरीको सिमरिया–९ स्थित चरैयामा लागेको शिवरात्री मेलामा बेलुन फुलाउन प्रयोग गरिएको ग्याँस सिलिण्डर पड्कदा मोरंङ कटहरी–२ घर भई जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान सोमराज माझीको मृत्यु भएको हो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ग्याँसबाट बेलुन फुलाएर व्यापार गर्ने दुहवी–८ सुनसरीका भगवानलाल शाहलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनामा झापा घर भई, सुनसरी सिमरिया– ९ मा पाहुना आएका २६ वर्षीय तारा मण्डल, भारत सैजनपुर घर भई मोरङको आरती फ्याक्ट्रिमा कार्यरत २६ वर्षीय गुड्डु यादब घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित नोवेल मेडिकल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसै गरी सुनसरी सोनापुर–८ बस्ने २५ वर्षीये रोहित ऋषिदेब, सोही स्थानका २६ वर्षीय पिप्ना ऋषिदेब, २० वर्षीय जोगेन ऋषिदेब, बिराटनगर –५ का २२ वर्षीय रिमा ऋषिदेब, सुनसरी दुहवी–५ बस्ने १५ वर्षीय आकास खतिवडा पनि सामान्य घाइते भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार दुहवीका १५ को आयुष थापा, सुनसरी सिमरियाका ७६ वर्षीय रेवलाल सरबरिया, २९ वर्षीय कल्पना कुमारी चौधरी सामान्य घाइते भएको सुनसरी प्रहरीले जनाएको छ ।