काठमाडौँ / प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली इतिहासलाई खण्डित तुल्याउने अवाञ्छित गतिविधिलाई निस्तेज पार्न नेपाली सेना तयार रहेको बताएका छन् ।
‘सेना दिवस २०७३’ को अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानसेनापति क्षत्रीले केही विखण्डनवादी शक्तिले साम्प्रदायिकता भड्किने अभिव्यक्ति दिनुका साथै केही समूहले हतियार उठाउने धम्की दिइरहेको कारण सांस्कृतिक एवम् सामाजिक सद्भाव तथा सहिष्णुतालाई चुनौती दिएको धारणा राखे । प्रधानसेनापति क्षत्रीले राष्ट्रिय हितविरुद्ध उत्पन्न हुन सक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको सामना गर्न सेना तयार रहेको बताए ।
नेपाली सेनाले मुलुकको अखण्ड इतिहासलाई जीवित राख्ने बताउँदै क्षत्रीले नेपालको संविधान र सरकारद्वारा दिइने सबै जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गरे । सेना नेपाली नागरिकको साझा राष्ट्रिय सेना भएको चर्चा गर्दै क्षत्रीले भने, ‘राज्य सङ्कटमा पर्दा होस् वा विपद्मा, नेपाली सेनाले गरेको निस्वार्थ
सेवाले नेपाली जनताको सेनाप्रतिको अगाध विश्वास, आस्था र भरोसा जितेको छ । यो नै नेपाली सेनाको हौसला र ऊर्जाको स्रोत हो ।’
सेनापति क्षत्रीले छिमेकी मुलुकसँग संयुक्त तालीम तथा अभ्यास सञ्चालन भइरहेको बताए । श्रीलङ्कासँग सयुक्त अभ्यास सम्पन्न भइसेकको तथा बङ्गलादेश र चीनसँग पनि संयुक्त अभ्यास गर्ने योजना रहेको उनले बताए ।