धरान/ पुरानो नाट्य सहर धरानमा आरम्भ नाट्य डबलीले ‘नाट्यकर्म’ को व्यवस्थापन र प्रवद्र्धन गर्न सङ्गठित अवधारणा अघि सारेको छ ।

शनिवार धरानमा आरम्भले आयोजना गरेको अन्तक्रियामा सम्भावित अवधारणा माथि विमर्श गरियो । ‘रङ्ग गोष्ठी’, ‘नाटक मेला’, ‘आधुनिक थिएटर’ लगायतका परिकल्पनामा पुराना नाट्य हस्तीहरु घोत्लिए ।

भाषाविद् प्राडा टंकप्रसाद न्यौपानेले प्रश्न गरे ‘रङगकर्मीहरुको पुरानो सहर भनेर चिनिएको धरानलाई किन जीवन्त नबनाउने ?’ धरानको रङगकर्मलाई जीवन्त र ऊर्जा दिन पुनर्संगठित आरम्भ नाट्य डबलीले सुरु गरेको अभियान प्रसंसनीय रहेको भन्दै उनले प्रशंसा गरे ।

पत्रकार जसकुमार राईले धरानको रंगकर्मलाई विद्यालयस्तरबाट अघि बढाउनु पर्ने औँल्याए । आरम्भले थालनी गरेको कार्यमा सबैको सहकार्य आवश्यक रहेको बताउँदै  अन्तरक्रिया रंगकर्मलाई निरन्तरता दिन ‘नाटक मेला’ गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । आरम्भका अध्यक्ष गोपाल देवानले आफूहरू त्यसमा सक्षम भएको बताए । धरानको रङगकर्मलाई निरन्तरता दिन धरान उपमहानगरपालिकाले अनाम नाट्य समूहलाई दिएको जग्गामा साझा सहभागितामा रहने गरी ‘थिएटर’ निर्माण गर्न छलफल अगाडि बढाउनु पर्ने समेत गोष्ठीको निष्कर्ष थियो ।

गोष्ठीमा वरिष्ठ पत्रकार तथा साहित्यकार राजकुमार कार्कीको विशेष आतिथ्यतामा साहित्यकारहरु बद्रि पलिखे, अग्रज पत्रकार हर्ष सुब्बालगायत र धरानका रङ्गकर्मीहरुको उपस्थिति रहेको थियो । रङग गोष्ठीको कार्यपत्र आरम्भ नाट्य डबलीका अध्यक्ष गोपाल देवानले प्रस्तुत गरेका थिए ।