न्युयोर्क/ मुस्लिम समुदायका व्यक्तिप्रति ऐक्यबद्धता प्रदर्शन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘आप्रवासी नीति’को विरोधमा न्युयोर्कस्थित टाइम्स स्क्वायरमा हजारौंले प्रदर्शन गरेका छन् । उनीहरूले ‘म पनि मुस्लिम हुँ’ भन्ने नारा लगाएका थिए ।
मुस्लिम बहुल सात देशका नागरिकमाथि लगाइएको प्रतिबन्धको विरोधमा उनीहरूले प्रदर्शन गरेका थिए । उक्त ऐक्यबद्धता र्यालीमा सहभागीले ‘लभ ट्रम्प्स हेट’, ‘अमेरिका, अमेरिका’ र ‘मुस्लिम प्रतिबन्ध खारेज गर’ जस्ता ब्यानर बोकेका थिए । र्यालीमा विभिन्न धार्मिक सम्प्रदायका व्यक्तिले अमेरिकामा देखिएको ध्रुवीकरणका विषयमा चिन्ता व्यक्त गरेका थिए । यसबाट बढेको खतरा र मुस्लिमको पक्षमा उभिन उनीहरूले आह्वान गरेका थिए ।
न्युयोर्क सहरका मेयर बिल डी ब्लासियोले पनि र्यालीलाई सम्बोधन गरेका थिए । उनले भने, ‘सबै धर्म र सबै खालका विचारको सम्मान गर्न अमेरिकाको स्थापना भएको थियो । यसैले मुस्लिम समुदायप्रतिको पूर्वाग्रह समाप्त गर्नुपर्छ ।’ न्युयोर्कको मेयर भएका नाताले उनले कुनै पनि देशको नागरिकता, पृष्ठभूमि र विचार भएका व्यक्तिको न्युयोर्कमा सम्मान गरिने बताए । उनले भने, ‘न्युयोर्क तपाईंको सहर हो र तपाईंको राज्य हो ।’
कुनै सम्प्रदाय, धर्म र आस्थाका व्यक्तिमाथि भएको आक्रमण सबै अमेरिकीमाथिको आक्रमण भएको उनको कथन थियो । सिख अमेरिकी स्पिकर सिमरन जित सिंहले पनि र्यालीमा समर्थन गर्दै सबै सुरक्षित हुन पाउनुपर्ने माग गरेका थिए । उनले भने, ‘सबैलाई स्वीकार गर्न सक्ने र सहिष्णु समाज होस् भन्ने मेरो चाहना हो ।’
वैध आप्रवासीलाई छुट दिइने
ट्रम्प सरकारले वैध आप्रवासीमाथिको प्रतिबन्ध भने खुकुलो गरिने जानकारी दिएको छ । नयाँ आदेशअन्तर्गत पहिलेदेखि अमेरिका प्रवेशाज्ञा ९भिसा० भएका व्यक्तिलाई भने अमेरिका प्रवेश गर्न दिइने भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसकी प्रवक्ता सारा हुकाबे स्यान्डर्सले यस्तो जानकारी दिएकी छन् ।
संघीय अदालतद्वारा ट्रम्पको ‘आदेश प्रतिबन्ध’विरुद्ध शरणार्थी र वैध आप्रवासीलाई लाइएको प्रतिबन्ध खुकुलो गरिएको हो । मुस्लिम बहुल देश इरान, इराक, सिरिया, यमन, सोमालिया, सुडान र लिबियामाथि यस्तो नियम जारी गरिएको थियो । ती मुलुकका नागरिक भए पनि अमेरिकी ग्रिन कार्ड भएका र अमेरिकाको नागरिकता लिएका व्यक्तिमाथिको प्रतिबन्ध सकिएको छ ।
प्रवक्ता स्यान्डर्सले नयाँ आदेश छिटै जारी गरिने जानकारी दिइन् । त्यसबाहेकका ती सात देशका नागरिकमाथि अमेरिका प्रवेशमा लगाइएको प्रतिबन्ध कायमै राखिने छ । सर्वत्र यसको आलोचना र विरोध भए पनि उक्त निर्णयमा अमेरिकी सरकार अडिग देखिएको छ ।