काठमाडौं/बाग्लुङका १८ वर्षीय युवक भिम सुनारले ‘ओशियन’ नामको नमूना गाडी बनाएर काठमाडौंमा सार्बजनिक गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी चार पांग्रे गाडीको नमूना सार्वजनिक गरेका हुन् । कक्षा १२ मा अध्ययनरत सुनारले यसअघि हेलिकोप्टर, डोजर र यन्त्र मानव ९रोबोट० बनाइसकेका छन् । पत्रकार सम्मेलनमा सुनारले भने, ‘यो गाडी ८० हजार लगानीमा निर्माण भएको छ । ३ लाख खर्च गरेर बनाउने हो भने एकदमै राम्रो गाडी बनाउन सक्छु ।’ उनले बनाएको गाडीमा बाइकको इन्जिन प्रयोग गरिएको छ । तर, स्टेरिङ भने आफैले बनाएको उनले बताए । कृषि क्षेत्रको विकासमा समर्पित हुने लक्ष्य लिएको बताउने सुनारले आगामी दिनमा गहुँ, कोदो, धान, भटमासलाई मेसिन मार्फत सरल व्यवस्थापन गर्ने र तरकारी काट्ने मेसिन बनाउने बताए । आफ्नो सिप र दक्षतालाई राज्यले उपयोग गर्नुपर्ने उनले बताए । ‘राज्यले सहयोग गरेको खण्डमा हामी जस्ता केही गर्न चाहने युवाहरू स्वदेशमै बसेर देश विकासमा केही गरेर देखाउन सक्छौं,’ उनले भने, ‘यदि राज्यले हेरेन भने विदेश पलायनको विकल्प रहँदैन ।’