-
Home
-
राशिफल
-
सहमतिपछि निर्वाचनको मिति घोषणा हुन्छ: प्रम दाहाल
सहमतिपछि निर्वाचनको मिति घोषणा हुन्छ: प्रम दाहाल
चितवन/प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चासँग सहमति बनेपछि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने बताएका छन् ।
प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वैशाख वा जेठमा निर्वाचन हुने बताउँदै मिति भने मधेसी मोर्चासहित अन्य दलसँगको सहमतिपछि मात्र तय गरिने बताए ।
मन्त्रिपरिषद्बाट निर्णय गरेर निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न भनिएको भन्दै उनले यो नै मिति तोक्नुसरह भएको बताए । प्रधानमन्त्री दाहालले भने “मधेसी मोर्चा र अरुलाई पनि सामेल गरेर चुनाव गराउनु छ, त्यसका निम्ति मात्रै प्राविधिक रुपमा गते नभनिएको हो ।”
संविधान संशोधन विधेयक पारित गराउने पहिलो कोसिस हुने भन्दै उनले समझदारी बनाउन अप्ठ्यारो भयो भने अर्काे प्रयास थालिने बताए । स्थानीय तहसम्बन्धी सम्पूर्ण ऐन बनिसकेको भन्दै उनले निर्वाचनका लागि आवश्यक पर्ने कुनै ऐन बन्न बाँकी छैन भने ।
उनले थ्रेसहोल्डसम्बन्धी ऐन अहिले भर्खर आवश्यक नरहेको बताए । स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमाथि कार्यदल बनाएर मन्त्रिपरिषद्ले १५ दिनको समयसमेत दिइसकेको पनि उहाँको भनाइ थियो । उनले सोही रिपोर्टका लागि दुई हप्ता सदन स्थगित गरिएको पनि बताए।