उर्लाबारी (मोरङ)/ नयाँ शक्ति पार्टीका केन्द्रीय सचिवालय सदस्य पर्शुराम खापुङले वर्तमान सरकार निर्वाचन गराउने मनस्थितिमा नरहेको आरोप लगाएका छन् ।
सो पार्टीको उर्लाबारी नगरकमिटी कार्यालयको आज यहाँ उद्घाटन गर्दै उनले भने – “२०७४ माघ ७ भित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता रहेको हुँदाहुँदै पनि सरकारको यसप्रति ध्यान केन्द्रीत भएको देखिएको छैन् ।”
नेता खापुङले प्रमुख तीन ठूला दल निर्वाचन नगराएर आफ्नो आयु लम्ब्याउने खेलमा लागेको आरोप लगाउँदै संविधान संशोधन गरेर यसलाई सर्वस्वीकार्य बनाउनुपर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य महेन्द्रजङ्ग तामाङ, केन्द्रीय परिषद् सदस्य जय पाख्रिन, क्षेत्रीय संयोजक मनोहरी दाहाल, नगर अध्यक्ष भक्ति अधिकारीलगायतले संविधान कार्यान्वयनमा देखिएको चुनौती र मुलुकको विद्यमान राजनीतिक अवस्थाका विविध पक्षमाथि प्रकाश पारे ।