जुम्ला/ जिल्लाको कुडारी गाविसस्थित कुडारी–ताम्ती–टोप्ला जोड्ने पक्की पुल निर्माणका लागि रु ७० लाख पेस्की लिएको आठ महिनासम्म निर्माण कार्य सुरु भएको छैन ।
रु तीन करोड ९६ लाख ८० हजारको लागतमा पुल निर्माणका लागि गत असार ९ गते काठमाडौँस्थित हिराचन अञ्जना जेभीँसँग सम्झौता भए पनि अहिलेसम्म काम सुरु नगरिएकोको जिल्ला प्राविधिक कार्यालयका सवइञ्जिनियर चूडामणि भट्टले बताए । जेभीले वर्षामा मनसुनी समस्या र हिउँदमा जाडो देखाएर काम नगरेको उनको भनाइ छ ।
सम्झौताको लगत्तै पेस्की लिए पनि हालसम्म काम नभएकाले दुईपटकसम्म सो कम्पनीलाई काम सुरु गर्न ताकेतासहित परिपत्र गरिएको स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले जानकारी दिए । “भर्खरै मात्र जेभीका प्रमुख रवीन्द्र सिंहसँग फोन सम्पर्क गरेका छौँ, एक हप्ताभित्र काम सुरु गर्ने वचन दिएको छ, भनेको समयमा निर्माण कार्य अघि नबढाए कारबाही प्रक्रिया अघि बढ्छ” – स्थानीय विकास अधिकारी बेल्बासेले भने ।
“साउन भदौमा वर्षात् भयो, त्यसपछिका महिनामा बिग्रेको बाटोले साथ दिएन । मङ्सिरबाट चिसो बढेकाले काम गर्न नसकिएको हो ।” रासससँगको कुराकानीमा जेभीका प्रमुख सिंहले भने – “ अबको हप्ता १० दिनभित्र आफैँ गएर काम सुरु गर्ने गर्नेछु । ” पेस्की लिएको आठ महिनासम्म पनि ठेकेदारले काम सुरु नगरेकाले स्थानीयवासीमा आशङ्का जागेको कुडारी गाविसका पूर्व अध्यक्ष चक्रबहादुर शाहीले बताए । पुल निर्माण भए ताम्ती गाविससँगै जाजरकोट जोड्न सहज हुन्छ ।
-रासस