रत्ननगर (चितवन)/ विपद जोखिम व्यवस्थापन गर्ने उद्देश्ले चितवनको लोथर गाविसमा सामुदायिक विपद व्यवस्थापन समिति गठन गरिएको छ । आरआरएन जल उत्पन्न प्रकोप नियन्त्रण परियोजनाको सक्रियतामा गाविसका १, २, ३, ४ र ९ नम्बर वडामा सो समिति गठन गरिएको हो । विपदको जोखिम न्यूनीकरणका लागि जोखिम क्षेत्र पहिचान गरेर यो समिति बनाइएको हो । स्थानीय विपद तथा जलवायुजन्य जोखिम व्यवस्थापन योजना तर्जुमा निर्देशिका २०७३ अनुसार सो गाविसको बढी जोखिममा रहेका पाँच वडामा समिति गठन गरिएको परियोजनाका फिल्ड संयोजक सरिता पौडेलले जानकारी दिनुभयो । लोथरको उक्त क्षेत्र पहिरोबाट उच्च जोखिममा छ । जसअन्तर्गत वडा नम्बर १ मा कल्पना लामा मोक्तान, २ मा राजेन्द्र प्रजा, ३ मा चन्द्रबहादुर तामाङ, ४ मा गङ्गाराम प्रजा, ९ मा सन्तुमाया चेपाङको संयोजकत्वमा समिति बनाइएको हो । हरेक समितिमा ११ देखि १३ जना सदस्य छन् । आरआरएनले यस वर्ष पहिरोको जोखिममा रहेका वडा नम्बर ३ को गणेश निमावि यौरालीटार र ९ को कान्देश्वरी प्राविमा सुरक्षात्मक पर्खाल बनाउने परियोजनाका जिल्ला संयोजक रवीन्द्रसिंह ठकुरीले जानकारी दिनुभयो । परियोजनाअन्तर्गत चितवनको लोथरमा पहिरो व्यवस्थापन र माडीको बाँदरमुढे खोलामा बाढी व्यवस्थापनमा काम गरिने संयोजक ठकुरीले बताउनुभयो । भूकम्पका कारण चितवनको पहाडी क्षेत्र पहिरोका उच्च जोखिममा छ ।

-रासस