तरहरा/ सरकारले आर्थिक वर्ष २०६६÷०६७ को बजेट वक्तव्यमार्पmत् पहिलोपटक शुरू गरेको ‘जनता आवास कार्यक्रम सुनसरीमा शुरु हुने भएको छ । जिल्लाका डोम, मुसहर, चमार, दुसाध, खत्वेलगायतका दलित र विपन्न मुसलमान परिवारलाई बस्नका लागि घर निर्माण गरिदिने योजनाका साथ शहरी विकास तथा भवन निर्माण विभागले घर बनाइदिने भएको हो ।
इटहरी उपमहानगरपालिका बज्राह–६ स्थित पुरानो मुसहर टोलमा ३० वटा, इटहरी उपमहानगरपालिका २२ ठकनलाल टोलमा ३० घर, इटहरी–७ टेङ्ग्रा टोलमा ३०, इटहरी–१० टावर दक्षिण टोलको मुसहर परिवारलाई २० घर, रामधुनीभाषीको तेत्तरगाछीको चमार बस्तीमा २५ घर, इटहरी–७ को नहर दक्षिण मुसहर बस्तीमा १५ घर र अमाही बेल्ला–१ को मुसहर बस्तीमा १० वटासँगै सुनसरीभर विभिन्न क्षेत्रमा गरी ८ सय घर निर्माण गर्ने ठाउँ तोकिएको समितिका सदस्य सांसद रेवतिरमण भण्डारीले बताए ।
सांसद मीनबहादुर विश्वकर्माको संयोजकत्वमा गठित १३ सदस्यीय समितिमा सांसद रेवतिरमण भण्डारी, सांसद कल्पना चौधरी, प्रजिअ, स्थानीय विकास अधिकारी तथा जिल्लाका सरकारी कार्यालयका प्रमुख छन् । उनीहरुले ठाउँ तोकेअनुसार सुनसरीको विभिन्न क्षेत्रमा ८ सय घर निर्माण हुने सांसद भण्डारीको भनाइ थियो । क्षेत्रगत सङ्ख्या र नगरपालिका, गाविस तथा वडा, टोलसमेत तोकिएको छ । धरान उपमहानगरमा १ सय ८०, इटहरी उपमहानगर, रामधुनी भासी नगरपालिका, अमाही बेल्हामा एक सय ५०, सुनसरी क्षेत्र नं. ३ को दुहबीभलुवा नगरपालिका, औरावनी, अमडुवा, सिमरिया, मधेली, तनमुना गाविसमा एक सय ६० घर निर्माण हुनेछन् ।
यस्तै सुनसरी क्षेत्र नं. ४ को कप्तानगञ्ज, डुम्राहा, सत्तेरझोरा गाविसमा एक सय ५०, सुनसरी क्षेत्र नं. ५ को हरिपुर, पश्चिमकुशाहा, श्रीपुरमा ९० घर बन्नेछ । सुनसरी क्षेत्र नं. ६ को मधुवन, महेन्द्रनगर (चक्रघट्टी), भरौल, सिङ्गिया, बक्लौरी, प्रकाशपुरमा एक सय १० घर बन्नेछन् । सुनसरीमा जनता आवास निर्माणका लागि चालू २०७३ र ०७४ को बजेटमा सरकारले ४ करोड ५६ लाख रुपैयाँ विनियोजन गरेको छ । जनता आवास कार्यक्रमअन्तर्गत दुई कोठा र ५ फिट चौडाइ भएको भान्सासहितको बरण्डा रहेको घर निर्माण हुनेछ । यसरी बनाइने घर राष्ट्रिय आवास नीतिले तोकेको मापदण्डअनुसार निर्माण गरिन्छ । यस्तो आवास निर्माणका लागि सरकारले एक लाख ५६ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । आवास निर्माणका लागि सरकारले चार किस्तामा रकम उपलब्ध गराउँछ । डोम, मुसहर, चमार, दुसाध, खत्वे, चेपाङ, राउटे, कुसुण्डा, वादी, वनकरिया, सुरेल, गन्धर्वलगायत अन्य दलित र विपन्न मुसलमान परिवारका घर बन्नेछन् । अन्य दलितका हकमा गन्धर्व, परियार, विश्वकर्मा, सार्की, कलर, ककैहिया, कोरी खटिक लगायत छन् । यस्तै चिडिमार, तत्मा, धोबी, पत्थरकट्टा, पासी, बाँतर, मेस्तर, सरभङ्ग परिवार समूहभित्र पर्ने सबै थर समावेश गरिएको छ ।