तरहरा/ इटहरीस्थित यातायात कार्यालयको सवारीचालक अनुमति पत्र शाखाका लेखापाल घूस लिँदालिँदै रङ्गेहात पक्राउ परेका छन् । मङ्गलबार बिहान सेवाग्राहीबाट लिँदै गरेको ४० हजार घूससहित लेखापाल भूपेन्द्र कटुवाल पक्राउ परेका हुन् ।चारपाङ्ग्रे सवारी साधनको लाइसेन्स बनाइदिन्छू भन्दै ४० हजार रुपैयाँ घूस लिएका कटुवाल कार्यालय नजिकैको चिया पसलबाट पक्राउ परेका हुन् । लाइसेन्स बनाइदिन्छू भन्दै सेवाग्राही भूपेन्द्र कटुवाल र दीपक थापाबाट ४० हजार घुस लिने क्रममा लेखापाल कटुवाललाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी क्षेत्रीय कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टराईले बताए ।
लेखापाल कटुवालले लाइसेन्स बनाउन रकम माग गरेपछि तारा पोखरेलमार्पmत् उनलाई रकम बुझाइएको थियो । पुष २० गतेदेखि २३ गतेसम्म इटहरीस्थित कार्यालयले लाइसेन्सको परीक्षा लिन फारम खुलाएको थियो । २० हजार रुपैयाँमा लाइसेन्स बनाइदिन्छू भनेपछि कटुवाल र थापाले रकम दिएका थिए । तर पक्राउ परेका लेखापाल कटुवालले भने तारा पोखरेल पहिलेदेखिकै चिनेको मानिस भएकोले जबर्जस्ती फसाएको बताएका छन् । उनले भने, ‘चिया खाना बोलाएर पैसा थमाएर जानुभयो । पैसा बोक्नेबित्तिकै अख्तियारले पक्राउ ग¥यो ।’ लाइसेन्स लिन १५ सय रुपैयाँ राजश्व लाग्नेमा १० हजार रुपैयाँसम्ममा बेच्ने गरेको गुनासोको आधारमा कटुवाललाई पक्राउ गरेको अख्तियारले जनाएको छ । उनले यसअघि पनि रकम लिएर लाइसेन्स बनाइदिएको अख्तियारको दाबी छ । लामो समययता सर्भर नचल्दा काम ठप्प भइरहेको कार्यालयमा बिहानै आएर सर्वसाधारणबाट रकम लिँदैगर्दा उनलाई पक्राउ गरेको अख्तियार कार्यालयका प्रमुख भट्टराईले बताए । उनलाई पक्राउ गर्न सहयोग गर्ने इटहरीको वराह साप्ताहिकका पत्रकार तारा पोखरेलले भने केही समयअघि आपूmलाई पत्रकार भनेर नचिनेको र होच्याएको कारण उनलाई पक्राउ गर्न अख्तियारलाई सहयोग गरेको बताएका छन् ।
यातायात कार्यालयमा दलालहरुको समेत बिगबिगी हुने गरेको छ । केही समयअघि पनि रकम लिएको भन्दै इलाका प्रहरी कार्यालय इटहरीले केही दलाललाई पक्राउ गरेको थियो । लेखापाल कटुवाल पक्राउ परेको खबर फिँजिएसँगै यातायात कार्यालयमा आँपगाछी तथा वरपरका सर्वसाधारणको भीड लागेको थियो । यता लाइसेन्स शाखाका प्रमुख श्याम सिंहले भने घूस दिने भनिएका दुवैजनाको नाम यातायात कार्यालयमा दर्ता नभएको जनाए । पुरानो रिसईवी साँध्न पनि पक्राउ गर्ने बहाना बनाएको हुनसक्ने उनको भनाइ थियो । ‘लेखापालले घूस लिएको भए उनलाई कानुनअनुसार कार्वाही हुनुपर्छ, हैन भने निर्दाेष व्यक्ति फस्नु हुँदैन’, उनले भने । एक महिनायता सर्भर नचलेर लाइसेन्सको काम नभइरहेको बेला एक्कासी घूससहित लेखापाल पक्राउ पर्नुले शङ्का उत्पन्न भएको बताउँदै कर्मचारी दोषी देखिए कार्वाही हुनुपर्ने उनले भने ।