भद्रपुर/अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले जिल्ला विकास समिति झापामाथी छानविन गर्ने भएको छ । झापाका खोलाहरुमा उत्खननका लागी लगाइएको ठेक्कामा अनयमितता भएको व्यापक उजुरी परेपछि कार्यालयले गरेको गतिविधीको वारेमा कागजपत्र तथा स्थलगत निरीक्षण मार्फत छानविन गर्ने भएको हो ।
जिविसले लगाएको ठेक्का मध्ये विरिङ खोलामा भइरहेको दोहनको विषयमा धेरै उजुरी परेकोले छानविन गरिने अख्तियारका इटहरी कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टराईले बताए । आउदो आइतवार आयोगको टोलीले खोलामा लागेको उत्खनन ठेक्काको सम्पुर्ण कागजपत्र र विरिङ खोलामा भएको दोहनको निरीक्षणगरी फोटो खिचेर अध्ययन गरी ठेक्काको कागज र कामको अवस्था नमिलेमा कारवाहीको दायरमा पर्ने प्रमुख भट्टराईले बताए ।
आई.ईईको रिपोर्ट अनुसार क्षेत्राधिकार तोकेको नपाइएमा, हचुवाको भरमा ठेक्का लगाएको जस्ता अनियमितता फेला परेमा छानविन प्रक्रिया थप अघि बढ्ने उनको भनाई छ । उनले भने, ‘हामीकहाँ धेरै उजुरी आइसकेकोले यसलाई छानविन गर्छौं ।’ आयोगले बुधबार भद्रपुरमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रणमा अख्तियारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा समेत विरिङ खोलामा भएको दोहनका विषयमा आवाज उठेको थियो ।