रामपुर (पाल्पा)/ रामपुर नगरपालिकाका सूर्यप्रसाद रेग्मी शिक्षण पेसालाई छाडेर व्यावसायिक बाख्रापालन व्यवसायमा लागेका छन् ।
शिक्षण पेसाले परिवारको गुजारा चलाउन धौधौ भएपछि उनले पेसा नै छाडेर बाख्रापालन व्यवसाय सुरु गरेका हुन् । रु चार लाखको लगानीमा खोर निर्माण र ४० वटा माउ बाख्रा खरिद गरेर व्यवसाय चलाएका रेग्मीले अहिले मनग्य आम्दानी गर्न सफल भएको छ ।
उनको फार्ममा अहिले ४५ वटा माउ बाख्रा, ११ वटा पाठा, सात वटा खसी, १० वटा साना पाठी, एक वटा ब्याडे बोका गरी जम्मा ७३ वटा बाख्रा रहेका छन् । उनको फार्ममा करिब रु १० लाखको लगानी गरेका छन् । चार वर्षसम्म शिक्षण पेसामा आबद्ध रहेका रेग्मीले बाख्रापालन व्यवसाय सुरु गरेपछि जिविकोपार्जन सहज बनेको छ ।
“शिक्षकको जागिरले खान लाउन मुस्किल प¥यो, समय बिताउने माध्यम मात्र बन्यो,” उनले भने – “बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी भएको छ ।” व्यवसायबाट वार्षिक रुपमा खर्च कटाएर रु तीन लाखदेखि रु चार लाखसम्म आम्दानी हुने गरेको छ । उनले स्थानीय क्रस, जमुनापारि क्रस र बोयर क्रस जातका बाख्रा पालेका छन् । उनले एक सय बाख्रा पाल्ने योजना बनाएकाे छ ।
व्यवसायका लागि जिल्ला पशुसेवा कार्यालयले युवालक्षित कार्यक्रमअन्तर्गत केन्द्रीय भेडा बाख्रा प्रवद्र्धनमार्फत रु ५० हजार अनुदान उपलब्ध गराएको छ । उनले रामपुरको पहाडी भेगमा खेर गएको खाली जमिनको सदुपयोग गर्दै व्यवसाय गर्दैआएका हुन्। उनी अहिले गाउँमा सफल व्यवसायी भनेर चिनिएकाे छ ।