ताप्लेजुङ/ करोडौ रुपैयाँको लागानि गरी ताप्लेजुङका ग्रामिण क्षेत्रमा रहेका विद्यालयमा बनाईएका छात्रबास भवन प्रयोग नहुँदा धमाधम भत्कन थालेका छन् ।
जिल्लाका अधिकाँस गाविसमा रहेका माध्यमिक विद्यालयहरुमा निर्माण गरीएका छात्र÷छात्राबास भवनमा विद्यार्थी बस्न छाडेपछि प्रयोग विहिन भएको जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले बताएको छ । छात्रबासमा बस्ने विद्यार्थी नहुँदा लाखौँ मुल्यबराबरका फर्निचरका सामान र करोडौ लगानि गरीएका भवन जिर्ण बन्न थालेका छन् । पहिले दुई तीन वटा गाविसका माध्यमिक तहमा अध्यायन गर्ने विद्यार्थीलाई लक्षित गरी निर्माण गरीएका यस्ता भवन प्रत्येक गाविसमा माध्यमिक विद्यालय खुले सँगै प्रयोग विहिन हुँदै गएको ईखाबुका स्थानिय आलोक लिम्बुले बताए ।
सो समयमा मावि केहि गाविसमा मात्र हुने र सो विद्यालयमा जान एक÷दुई दिन सम्मको समय लाग्ने हुँदा एउटै विद्यालयका छात्रबासमा तीन सय देखि पाँच सय सम्म विद्यार्थी बसेर अध्यायन गर्ने गरेका थिए । अहिले छात्रबासमा बस्ने विद्यार्थी नहुँदा भवन प्रयोग विहीन भएको लेलेप गाविसको सरस्वति च्यारीबुक माध्यमिक विद्यालयका प्रधानअध्यापक राम तामाङको भनाई छ ।
माध्यमिक तह अध्यायन गर्ने विद्यार्थीलाई लक्षित गरी सो समयमा निर्माण गरीएका जिल्लाका एक दर्जन बढि छात्रबास भवन र फर्निचर अहिले प्रयोगमा नरहेको विद्यालयहरुको भनाई छ ।