बर्दिवास/ह्विलचेयरबाटै मेची—महाकाली यात्रामा निस्केका शारीरिक अपाङ्गता भएका २३ वर्षीय दिनेश रावलले मङ्गलबार महोत्तरीको बर्दिवासबाट पूर्वको यात्रा बढाउनुभएको छ । महाकालीबाट गत पुस ४ गते यात्रा सुरु गर्नुभएका रावलले मङ्गलबार ३७औँ दिनको यात्रा बर्दिवासबाट पूर्वका लागि बढाउनुभएको हो ।
सोमबार बर्दिवास आइपुग्नुभएका रावलले अपाङ्गता भएकाले पनि मुलुकका लागि योगदान गर्नसक्ने सन्देश प्रवाह गर्नु आफ्नो यात्राको उद्देश्य भएको सञ्चारकर्मीलाई बताउनुभयो । पश्चिम नेपालको कैलाली जिल्लाको पथरैया—८ का रावलले यात्राका क्रममा आपूmले अपाङ्गता भएका व्यक्ति, सामाजिक क्षेत्रमा कार्यरत अगुवा र स्थानीय निकायका प्रतिनिधिसँग छलफल गर्दै अपाङ्गता भएकालाई प्रवाह गरिने सेवासुविधाबारे जानकारी लिने गरेको स्पष्ट पार्नुभयो । बर्दिवास आइपुग्दा रावलले यहाँका अपाङ्गसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र अन्य सामाजिक सङ्घसंस्थाका प्रतिनिधिसँग अपाङ्गता भएकाको सामाजिक, आर्थिक र शैक्षिक अवस्था र आवश्यकताबारे अन्तरक्रिया गर्नुभएको थियो । मेची पुल पुगेर यात्रा समापन गर्ने निधो गरेका रावलले आपूmले अहिलेसम्मको यात्राका क्रममा आम जनता मुलुकको राजनीतिक अवस्थाबाट अत्यन्त चिन्तित पाएको प्रतिक्रिया दिनुभयो । स्नातक तहको अध्ययन जारी राखेका रावलले अब मुलुकको समृद्धि र विकासका लागि राज्यको मुख मात्र नताकी जनता आफैँ जाग्नुपर्ने आवश्यकता भएको औँल्याउनुभयो । मनोरम आफ्नो देश यहीँकै मिहेनती जनताको पौरखले समृद्ध बन्ने विश्वास जगाउन यात्रा सहयोगी बनेको रावलको भनाइ छ । ह्विलचेयर यात्री रावललाई उहाँका आफ्नै गाउँका साथी २५ वर्षीय गणेश परियारले यात्रामा साथ दिनुभएको छ ।
-रासस