पेसावर (पाकिस्तान)/पाकिस्तानको उत्तरपश्चिमी आदीवासी इलाका प्रायःसिया क्षेत्रको रुपमा रहेको स्थानमा शनिबार भएको बम विस्फोटको पाकिस्तानी तालिवानले जिम्मा लिएका छन् । यस विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या २४ पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । अफगानिस्तानको सीमा क्षेत्रमा रहेका पराचिनार सहरको कुर्राम आदीवासी इलाकामा रहेको एक तरकारी बजारमा शनिबार भएको यस विस्फोटनमा परी शनिबार नै २० व्यक्तिको मृत्यु भएको थियो । घाइतेमध्ये थप चार व्यक्तिको मृत्यु भएपछि सो सङ्ख्या २४ पुगेको हो । यस बम हमलामा परी ९० भन्दा बढी घाइते भएका छन् । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रांन्तका गभर्नर इक्बाल जफार झाग्राले पाकिस्तानी निजी टेलिभिजन च्यानल जिओलाई दिएको एक अन्तर्वार्तामा यस विस्फोटको पुष्टि गरे । सरकारका वरिष्ठ अधिकारी इक्रामुल्लाह खानले एएफपी समाचार समितिलाई तरकारीको बाकसमा विस्फोटक पदार्थ लुकाएर ल्याएको जानकारी दिए । एएफपी