ताप्लेजुङ/भवन निर्माण, सडक तथा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ताप्लेजुङ नगरपालिकाले शुक्रबार ८ करोड ८८ लाख ८८ हजार रुपैयाँबराबरको नगर विकास योजना सार्वजनिक गरेको छ ।चौथो नगरपरिषद्बाट पारित बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यकारी अधिकृत छविलाल राईले आफ्नै भवन नहुँदा कार्यसम्पादन गर्न समस्या भएकोले आर्थिक वर्ष २०७४÷०७५ को बजेटमा भवन निर्माणका लागि २ करोड रुपैयाँ लगानी गर्ने जानकारी दिए ।

यस्तै अन्य बजेट सडक तथा पूर्वाधार निर्माण, सडक स्तरोन्नति, ढल निकास, सामाजिक सुरक्षा भत्ता, विभिन्न योजनामा लगानी गर्ने नगरपालिकाले तयारी गरेको छ । चौथो नगर परिषद्बाट पारित बजेट गत वर्षको तुलनामा २ करोड ६० लाख ८८ हजार रुपैयाँले बढी हो ।अघिल्लो वर्ष तेस्रो नगरपरिषद् भेलाले ६ करोड २८ लाखको बजेट पारित गरेको थियो । अघिल्लो वर्ष नगरपालिकाभित्रका सडक, ढल निकास, फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखिएको थियो भने यस वर्ष भवन निर्माण सँगै बालबालिकाको लागि बालउद्यान निर्माण, सबै वडालाई जोड्ने सडक निर्माण तथा स्तर उन्नति, दमकलका लागि आवश्यक पानीका लागि पोखरी निर्माण, हाट बजार व्यवस्थापनलाई बढी प्राथमिकता दिएको कार्यकारी अधिकृत राईको भनाइ छ ।

२०६८ मा स्थापना भएको नगरपालिकाले गत वर्षको माघ महिनादेखि भवन संहिता लागू गरी साउनदेखि एकीकृत कर लगाउने निर्णय गरेको भएपनि कडाइका साथ लागू गर्न भने सकेको छैन ।नगर परिषद्बाट वर्षेनि रकम बढाएर योजना सार्वजनिक गरे पनि नगरभित्र अव्यवस्थित टहरा निर्माण बढिरहे पनि हटाउन तथा रोक्न, सार्वजनिक स्थानमा शौचालय निर्माण गर्न अग्रसरता नदेखाउँदा नगरपालिकाभित्रैको बजार क्षेत्र अव्यवस्थित बनिरहेको छ । शुक्रबार सम्पन्न चौथो नगरपरिषद्मा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, पूर्व सभाषद्, कार्यालय प्रमुख तथा राजनीतित दल र नगरबासीको उपस्थिति थियो ।