डडेल्धुरा/चुरेक्षत्र संरक्षणका लागि जिल्लाको रङ्गुन नदी र अन्य खहरे खोलामा तारजाली तथा जैविक तटबन्ध निर्माण गरिएको छ ।

बाढी, पहिरोका कारण पर्शुराम नगरपालिका र आलिताल गाविसअन्तर्गत चुरेक्षेत्रको वनजङ्गल विनासलाई रोक्नका लागि खहरे खोला र रङ्गुन नदीको १० किलोमिटर क्षेत्रमा तारजाली एव्म जैविक तटबन्ध निर्माण गरिएको जिल्ला वन कार्यालय डडेल्धुराले बताए । पर्शुराम नगरपालिकाको जोगबुढा र आलितालमा वर्षेनि वर्षायाममा बाढी पहिरोका कारण मानवबस्ती, खेत र जङ्गल बगाई विनाश हुन थालेपछि रङ्गुन नदी र अन्य खोलामा पनि तटबन्ध निर्माण गर्न लागिएको जिल्ला वन कार्यालय डडेल्धुराका सहायक वन अधिकृत केशव पुडासैनीले बताए ।  राष्ट्रपति चुरे सरंक्षण कार्यक्रमको आर्थिक सहयोगमा जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय धनगढी र जिल्ला वन कार्यालय डडेल्धुराले तटबन्ध निर्माण गर्ने कार्य गरिरहेको इलाका वन कार्यालय जोगबुढाका सहायक वन अधिकृत चिरञ्जीवी थापामगरले बताए। जिल्ला वन कार्यालयको प्राविधिक सहयोगमा रङ्गुन नदीमा करिब तीन किलोमिटर क्षेत्रमा तारजाली सहितको जैविक तटबन्धसमेत निर्माणकार्य सम्पन्न भइसकेको वन अधिकृत थापामगरले बताए । यो वर्ष करिब रु ५० करोडको लगानीमा रङ्गुन नदी सघन नियन्त्रण गुरुयोजना अन्तर्गत रङ्गुन नदी र खहरेखोलाको १० किलोमिटर क्षेत्रमा बाढी पहिरोबाट बचाउनका लागि तारजालीलगायत ढुङ्गागिट्टी तथा खैर, वयर र अन्य रुखसमेत लगाई जैविक तटबन्ध लगाउने कार्य भइरहेको स्थानीय डम्बर कामीले बताए । यो वर्ष मात्रै रङ्गुन नदीलगायत अन्य चुरेक्षेत्रका आसपासको बस्ती र खेतीयोग्य जमिनलाई बचाउनका लागि पर्शुराम नगरपालिका १२ लाढुङ्गामा पाँच किलोमिटर र वडा न–५ परिगाउँमा तीन किलोमिटर गरी करिब आठ किलोमिटर क्षेत्रमा तारजालीलगायत ढुङ्गाको तटबन्ध निर्माण कार्य सम्पन्न भएको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । तत्कालका लागि अति जोखिममा रहेका र जैविक तथा भुस्खलन क्षेत्र, बस्ती र जङ्गल बचाउनका लागि रङ्गुनलगायत अन्य चुरे क्षेत्रका खहरे खोलाको करिब आठ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरिएको छ भने अन्य न्यून जोखिम भएका क्षेत्रमा समेत तटबन्ध लगाइने जनाइएको छ । करोडाैँकाे लगानीमा निर्माण भइरहेको रङ्गुन नदी सघन गुरु योजना अन्तर्गत तटबन्ध निर्माण कार्यले भित्रि मधेस क्षेत्रका बस्ती र उर्वर खेतियोग्य जमिनको संरक्षण एव्म चुरे क्षेत्रको वन जङ्गलसमेत विकास हुने सरोकारवालाले जनाएको छ । रासस