धरान/फिदिम नगरपालिकाले बार्षिक रुपमा प्रदान गर्दै आएको ‘नगर विकास पत्रकारिता पुरस्कार’ बाट यसपल्ट ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका पाँचथर समाचारदाता सन्देश सुब्बा पुरस्कृत भएका छन् । जिविसको सभाहलमा बिहीबार सम्पन्न चौथौं नगर परिषदबाट पारित नीति तथा कार्यक्रमको सार्वजनिकिकरण समारोहको अवशरमा प्रमुख अतिथि सांसद अइन्द्रसुन्दर नेम्बाङ र फिदिम नगरपालिकाका कार्यकारी अधिकृत निरज कुमार देवले संयुक्त रुपमा सो पुरस्कार पत्रकार सुब्बालाई हस्तान्तरण गरेका थिए ।
पुरस्कारको राशी सम्मान पत्र सहित नगद दश हजार रुपैंयाँ रहेको छ ।नेपाल पत्रकार महासंघ पाँचथर शाखा सँगको समन्वयमा नगर विकासको लागि सक्रिय रुपमा कलम चलाउँने जिल्लाको एक पत्रकारलाई हरेक वर्ष पुरस्कृत गर्ने गरी फिदिम नगरपालिकाले गत वर्षदेखि उक्त पुरस्कार वितरण गर्न सुरु गरेको हो । गत वर्ष पाँच हजार रुपैंयाँ रहेको उक्त पुरस्कारको राशी यो वर्षदेखि बढाएर दश हजार बनाइएको कार्यकारी अधिकृत देवले बताए ।
यसैबीच नगरपालिकाले चालु आर्थिक वर्ष २०७३÷७४ को लागि चौंथो नगर परिषदबाट स्वीकृत भएको कूल ९ करोड ६० लाख ४६ हजार २ सय २२ रुपैंयाँको बजेट एवंम् नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । त्यस्तै आगामी आर्थिक वर्ष २०७४÷७५ को लागि ९ करोड ८५ लाख ४३ हजार २ सय रुपैंयाँको प्रस्तावित कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको छ ।
कार्यक्रम तथा बजेटको सार्वजनिकिकरण गर्दै फिदिम नगरपालिकाका कार्यकारी अधिकृत निरज कुमार देवले स्थानीयको चाहना, आवस्यक्ता र माँग बमोजिमको कार्यक्रम तथा बजेट परिषदबाट पास गरिएको जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सांसद आइन्द्रसुन्दर नेम्बाङले पारित बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिंदै शुभकामना दिएका थिए ।