विजयपुर/सरकारी निकाय र राजनैतिक दलहरुले सडक बनाउने कुरामा ‘माखो’ नमारेपछि धरानको छिमेकी गाबिस भरौलका बासिन्दाहरुले धरान –भरौल सडक खण्ड आफै निर्माण गरेका छन् । सरकारी कार्यालय र राजनैतिक दलले आश्वासन र गफ मात्र दिने तर काममा ‘माखो’ नमार्ने भएका कारण स्थानियहरुले सरकारी निकाय र राजनैतिक दललाई चुनौती दिदै आफै जुटेर सडकको स्तरउन्नती तथा पुनःनिर्माण गरिएको स्थानिय भोजराज घलेले बताए ।स्थानिय अमाह सामुदायीक बनका अध्यक्ष समेत रहेका उनले सरकारी निकाय र राजनैतिक दलका नेताको आश्सनका कारण बर्षौ सम्म नबनेको सडक स्थानियहरु आफै जुटेर निर्माण गरिएको बताए । सडक निर्माण गर्न अमाह सामुदायीक बनका दुई हजार एक सय उपभोक्ताले श्रमदान गरेका थिए ।

अमाह सामुदायीक बनका १५ वटा टोलका उपभोक्ताहरुले २१ दिन सम्म श्रमदान गरेपछि सोमबार सडक निर्माण कार्य सम्पन्न गरेका छन् । सडक मर्मत तथा पुनःनिर्माण गर्न प्रत्येक दिन दुई देखि तिन वटा टोलका एक सय जना उपभोक्ताहरु २१ दिन सम्म पालोपालो गरेर खटिएका थिए । अमाह सामुदायीक बनले आफ्ना उपभोक्ताहरुलाई सडक निर्माण गर्न अनिबार्य उपस्थीत हुन उर्दिनै जारी गरेको थियो ।‘ सडक निर्माण गर्न नआउने उपभोक्तालाई चार सय ७५ रुपैया जरिमाना समेत तोकिएको थियो’सामुदायीक बनका अध्यक्ष घलेले भने ‘बल्ल आज (सोमबार)बाट सडक निर्माण सकिएको छ,केहि ठाउमा गिटी हाल्नु पर्ने अबस्था छ,खर्च जुटाएर त्यो पनि पुरा गछौं ।भरौलको वडा नम्मर ५ मा पर्ने भलुवाचौरी देखि धरान सम्म जोडिने आठ किलोमिटर सडकमा २४ सै घण्टा कृषक तथा स्थानियबासिन्दाहरुको आवतजावत हुन्छ । भरौलसँग धरानको दशकौं देखि शिक्षा,ब्यापार र स्वास्थ्यसँगको सम्बन्ध रहदै आएको छ ।उक्त सडकमा गत बर्ष अपराधिक गतिबिधी बढेपछि धरान प्रहरीको सक्रियतामा अपराधिक गतिबिधी गर्नेहरुलाई पक्राउ गरिएको थियो । भरौलका किशानहरुले उत्पादन गर्ने दुध,तरकारी,दाल,चामल तथा मासुजन्य उत्पादन धरानमा खपत हुदै आएको छ ।भरौलका अधिकाशं बिद्यार्थीहरु पढ्नका लागि उक्त सडकबाटै धरान सम्म आउने गर्छन ।

‘धरानका धेरै ब्यक्तिको खेतीपाती भरौलमा छ सामुदायीक बनका अध्यक्ष घलेले भने ‘भरौल र धरान बिचको शैक्षिक,ब्यापारीक तथा स्वास्थ्यको समन्ध निकै पुरानो हो । आफुहरुले दैनिक उपभोग गर्ने सडक पुनःनिर्माण र मर्मत गर्न सरकारी कार्यालय र राजनैतिक दलहरुलाई पटक पटक आग्रह गर्दा पनि कुनै उपलब्धि नभएपछि ‘आफ्नो गाउ आफै बनाउने अभियान’मा जुटेको उनले बताए ।यो सडक बनेपछि भरौलको १,२,३,५,६,८,९ नम्मर वडा तथा चक्रघट्टि तथा प्रकाशपुरका बासिन्दाले प्रतक्ष्य लाभ लिन सक्ने छन् । भरौल गाबिसमा मात्र अहिले करिब २२ हजार जनसंख्या रहेको छ ।

जनताको नाउँमा राजनीति गर्ने राजनीतिक दललाई चुनौती दिँदै भरौलवासीले सडक बनाएका हुन भरौलका स्थानिय युवा दिपक पुरीले जानकारी दिए । कृषि पर्यटकीय क्षेत्रका रूपमा रहेको भरौललाई व्यापारिक केन्द्र धरानसँग जोड्नका लागि सहज र फराकिलो बाटो निर्माण गर्नुपर्ने आवश्यक्ता रहेकाले स्थानीय आफैँ खटेका हुन् ।विकासका दृष्टिले केही पछि परेको भरौललाई कृषि, पशुपालनका क्षेत्रका रुपमा विकास गरेर लाने प्रसस्त सम्भावना रहेपनि सरकारी तवरबाट पहल नभएको स्थानीयको गुनासो छ । सडक बाटो राम्रो नभएकै कारण हिजोको दिनमा धेरै कृषक व्यापारीहरुले दुःख भोग्नु परेको थियो । स्थानिय पुष्प भट्टराईले भने–भरौल र धरान जोड्ने जंगलको बाटो हिड्नेहरु असुरक्षित थिए अब बाटो ख्ुल्ला भएपछि त्यो त्रास कम हुने छ ।