इटहरी/इटहरी–१५ स्थित एकम्वाका भवेश भनिने भविशेषक कुमार चौधरी माथि गोली प्रहार गर्ने समुहको अझै पहिचान हुन सकेको छैन । इटहरी संयुक्त वार्ड कार्यालयका सचिव गोपाल चौधरीका छोरा भवेशको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसीयू कक्षमा उपचार भइरहेको छ । ‘स्थानीयवाट पनि कुनै कुरा खुलेको छैन’ सुनसरी प्रहरी प्रमुख एसपी पोषराज पोख्रेलले भने ‘घाइते नर्मल भए पछि केही कुरा खुल्न सक्छ ।’ प्रहरीले घटनामा संल्गग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिई सार्वजनिक मुद्धा दर्ता गरी अनुसन्धान गरिरहेको छ । गत शनिबार साँझ ६ बजेतिर एमम्बाको नहर डिलमा २५ वर्षीय चौधरी माथि गोली प्रहार भएको थियो । छाती र पेटको बीचमा गोली लागि गम्भीर घाइते भएका चौधरीको धरानस्थित वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा स्थानीय विवेक शाह र सूर्य चौधरीलाई नियन्त्रणमा लिएको एसपी पोख्रेलले बताए । चौधरी शनिबार साँझ को. २४ प १६२६ नम्वरको मोटरसाईकलमा सवार थिए । स्थानीयले भने चार जना मोटरसाइकलमा आएको समुहले गोली हानेको बताए पनि प्रहरीले स्थानीय युवा माथिनै निगरानी बढाएको छ । घटना स्थलमा गोली हानेको खोका समेत नभेटिएकोले घरेली कुटुवा पेस्तोलबाट गोली प्रहार भएको प्रहरीको अनुमान छ । घटनाका बारेमा प्रहरीको पूर्व क्षेत्रीय प्रहरी कार्यालय अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले अनुसन्धान गरीरहेको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरिक्षक शान्तिराम कार्कीले बताए ।