काठमाडौँ/शिव सेना नेपालले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा आज १०८ मिटर लामो माला चढाएको छ । तत्कालीन समयमा विभिन्न भागमा छरिएको भू–भागलाई शाहले एकीकरण गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेको स्मरणमा शिव सेना नेपालद्वारा उनको २९५ औँ जन्मजयन्ती मनाएको हो । विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले समेत उनको सालिकमा फूल गुच्छा चढाएर उनको योगदानको चर्चा गरेका थिए । गोर्खा समाजले शाहको तस्बिरलाई गाडीमा सजाएर नगरका विभिन्न स्थान परिक्रमा गराई सिंहदरबार ल्याएर माल्यार्पण गरेको थियो । सो समाजको सहयोगमा नेपाल प्रहरीले बाजा बजाएर पृथ्वीनारायण शाहलाई भावपूर्ण श्रद्धाञ्जलि दिएका थिए । समाजका संस्थापक अध्यक्ष डा उपेन्द्र देवकोटाले पृथ्वीनारायण शाहले निर्माण गरिदिएको मुलुकमा बस्ने नेपालीले उहाँलाई आदर गर्नुपर्नेमा जोड दिँदै पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मान्नपर्ने बताए । राप्रपाका अध्यक्ष कमल थापाले आधुनिक नेपालको निर्माणमा पृथ्वीनारायण शाहले जीवन समर्पण गरेको विचार व्यक्त गर्दै उनको सम्मानमा राष्ट्रले औपचारिक कार्यक्रम गर्नुपर्नेमा जोड दिए । पूर्वमन्त्री सुनिल थापाले नेपालीले सदैव पृथ्वीनारायण शाहले मुलुकको एकीकरणमा खेलेको भूमिकालाई स्मरण गरी सम्मान गर्नुपर्ने बताए । शिवसेना नेपाललका अध्यक्ष अनिल बस्नेतले पछिल्लो समय पृथ्वीनारायण शाहको योगदानलाई ओझेलमा पार्ने कार्य भइरहेकामा चिन्ता व्यक्त गरे । पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालले पृथ्वीनारायण शाहलाई अनादर गर्नु भनेको आफ्नो अस्तित्वलाई चुनौती दिएकाे बताए । रासस