मस्को/दोश्रो विश्वयुद्धमा आम नरसंहारमा परी मृत्यु भएका तत्कालीन सोभियत सङ्घका सैनिक तथा पोल्यान्डका सर्वसाधारण ग्रामीण नागरिकहरुको स्मृतिमा पश्चिमी युक्रेनको एक ग्रामीण इलाकामा खडा गरिएको एउटा ऐतिहासिक स्मारकलाई अज्ञात समूहले बम पड्काई ध्वस्त पारेका छन् । युक्रेनको लभिभ क्षेत्रको राष्ट्रिय प्रहरीले एक विज्ञप्ति प्रकाशित गरी जनाएअनुसार हुता पेन्यात्स्का ग्रामीण क्षेत्रमा विशाल ढुङ्गाको क्रस निर्माण गरी आम नरसंहारमा परेका मृतकहरुको नाम कुँदेर खडा गरिएको उक्त ऐतिहासिक स्मारक विध्वंशकहरुको एक अज्ञात समूहले बम पड्काई ध्वस्त पारेको हो । सन् १९४४ मा हिटलरका नाजी सैनिकहरुले तत्कालीन सोभियत सङ्घअन्तर्गतको युक्रेनबाट युक्रेनी युवाहरुलाई नाजी स्वयंसेवक सैनिक दस्तामा जबर्जस्ती भर्ना गरेर उनीहरुलाई नै प्रयोग गरी उक्त स्थानमा लगिएका सोभियत सङ्घका सैनिक तथा पोल्यान्डका सर्वसाधारण ग्रामीण नागरिकहरु समेत एक हजार दुई सय जना जतिलाई एकै चिहान बनाई निमर्मतापूर्वक हत्या गरेको भन्ने विश्वास गरिएको भनी पोल्यान्डको राष्ट्रिय स्मृति प्रतिष्ठान (पोलिस इन्स्टिच्युट अफ नेसनल रिमेम्बरेन्स) ले जनाएको छ । युक्रेनी सञ्चारमाध्यम तथा प्रसारणहरुले देखाएका घटनास्थलको तस्बीर र भिडियो दृश्यमा युक्रेनी राष्ट्रिय झण्डा तथा राष्ट्रिय रङ्गको प्रतीक चिह्नकाबीच मृतक सहिदहरुको नामाङ्कन गरिएको दुईवटा विशाल चारपाटे ढुङ्गा (स्ल्याब) टुक्रा टुक्रा भै फुटेर छरपस्ट भएको देखिएको छ । लभिभ क्षेत्रको राष्ट्रिय प्रहरीले घटनाको अनुसन्धान र विध्वंशकारीहरुको खोजी भै रहेको जनाएको छ । रासस/एपी