विजयपुर/ नेपाल विद्युत् प्राधिकरण धनकुटा शाखाको स्वामित्वमा रहेको जग्गामा बसेका सुकुम्बासीलाई सरकारले उठिबास लगाएको भन्दै एमालेनिकट सुकुम्बासी सङ्गठन नेपाल भूमिहीन सुकुम्बासी सङ्गठन धरानले विरोध जनाएको छ ।सङ्गठनले सोमबार विज्ञप्ति जारी गरी नागरिकको नैसर्गिक अधिकारमाथि नै ठाडो हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएको छ ।
विज्ञप्तिमा बिचल्लीमा पारिएका ४७ घरपरिवारका नागरिकलाई बसोबासको व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ । सुकुम्बासीहरुलाई बसोबास र क्षतिपूर्तिको व्यवस्था मिलाउनपनि विज्ञप्तिमा आग्रह गरिएको छ ।
बस्तीमा डोजर प्रयोग गर्दा बिरामीहरुको औषधि, विद्यार्थीहरुको कापी कलम तथा लत्ताकपडा, अन्न समेत नष्ट गरिएको भन्दै विज्ञप्तिमा निर्दयी र निरङ्कुश ढङ्गबाट मानव अधिकारको उल्लङ्घन गरिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको पनि ध्यानाकर्षण गराइएको छ । विज्ञप्तिमा सङ्गठन धरानका अध्यक्ष नरेन्द्रप्रसाद राईले हस्ताक्षर गरेका छन् ।