-
Home
-
अर्थ
-
बोनम्यारो पीडित क्षेत्रीलाई करिब रु दुई लाख सहयोग
बोनम्यारो पीडित क्षेत्रीलाई करिब रु दुई लाख सहयोग
म्याग्दी/म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्तक्यान्सरबाट पीडित सीता (कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारको लागि सुरु गरिएको सहयोग सङ्कलन अभियानमा पोर्चुगलमा रहेका म्याग्देलीले समेत आर्थिक सहयोग गरेका छन् ।
मोना पोर्चुगल र त्यहाँ रहेका राखुबासी युवाको पहलमा रु एक लाख ९८ हजार ४९४ सहयोग सङ्कलन गरी सीता बचाउ अभियानमा सहयोग गरिएको हो ।
क्षेत्रीको उपचारमा पोर्चुगलमा रहेका म्याग्देलीसँगै त्यहाँ रहेका नेपालका विभिन्न जिल्लाका महानुभावले समेत सहयोग गरेको मोना पोर्चुगलका सहकोषाध्यक्ष रामजी भण्डारीले जानकारी दिए । मोना पोर्चुगलले यसअघि पनि जिल्लामा भएका अन्य दैवी प्रकोप, आर्थिक विपन्नताको कारण उपचार गराउन नसकेकालगायतको सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।
टिचिङ अस्पताल काठमाडौँमा उपचाररत क्षेत्रीको उपचारार्थ पोर्चुगलबाट उपलब्ध भएको सहयोगले धेरै राहत मिलेको सीता(कृष्णकुमारी) कटुवाल क्षेत्री बचाउ अभियानका संयोजक नन्दबहादुर खत्रीले बताए। क्षेत्रीको उपचारमा करिब रु ७० लाख लाग्ने अस्पतालले जनाएको छ भने अभियानअन्तर्गत हालसम्म रु २८ लाख सङ्कलन भइसकेको छ ।
क्षेत्रीको उपचारको लागि आर्थिक सहयोग गर्ने दाताले बेनीस्थित ग्लोबल आइएमइ बैंकमा समितिका संयोजक नन्दबहादुर खत्री र सदस्यद्वय कमल खत्री र हरि भण्डारीको नाममा रहेको संयुक्त खाता नम्बर ४८०७०१०००२६७४ मा सहयोग रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको छ । रासस