dharanविजयपुर/ धरान उपमहानगरपालीकाले यो बर्ष देखि फोहोर ब्यबस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी गरेको छ । निजी क्षेत्रसँग सहकार्य गरेर फोहोर ब्यबस्थापन गरेपछि उपमहानगरपालीकाको फोहोर ब्यबस्थापनमा खर्च हुने करोडौ रुपैया बिकाश निर्माणका कार्यमा खर्च हने छ । धरान उपमहानगरपालीकाका अनुसार फोहोर ब्यबस्थापनका लागि अहिले बार्षिक झण्डै दुई करोड रुपैया खर्च हुदै आएको छ । उपमहानगरपालीकाले भने सरसफाई सेवा शुल्क भनेर उठाउने शुल्क गत आर्थिक बर्षमा ८ देखि १० लाख मात्र थियो ।

चाल्ु आर्थिक बर्ष २०७३÷७४मा ब्यबसायमा पनि सरसफाई सेवा शुल्क लिन थालिएपछि २५ देखि ३० लाख रुपैया शुल्क उठ्ने अनुमान गरिएको धरान उपमहानगरपालीकाका बरिष्ट राजश्व अधिकृत खगेन्द्रप्रसाद खतिवडाले जानकारी दिए ।फोहोर ब्यबस्थापन निजी क्षेत्रसँग मिलेर गर्न थालेपछि उपमहानगरपालीकाको झण्डै डेड करोड रुपैया बचत हुने छ ।अहिले फोहोर संकलन र ब्यबस्थापनका लागि सेवा प्रदायक संस्था छनौट गरेर जिम्मा दिन प्रारम्भिक तयारी उपमहानगरपालीकाले गरेको छ । संघिय मामिला तथा स्थानिय बिकाश मन्त्रालयले जारी गरेको फोहोर मैला ब्यबस्थापन ऐन २०६८ र नियमावली २०७० बमोजिम नगरभित्र उत्पादनहुने फोहोरहरुको ब्यबास्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने तयारी रहेको धरान उपमहानगरपालीकाका सरसरफाई प्राबिधिक अधिकृत शिशिर श्रेष्ठले जानकारी दिए । धरानमा २०५७ साल देखि ६३ साल सम्म ठेक्का लगाएर फोहोर ब्यबस्थापन गरिएको थियो ।

तर ठेकेदार मार्फत फोहोर ब्यबस्थापन गर्दा सन्तोषजनक नतिजा नआएपछि उपमहानगरपालीका आफैले पुनः फोहोर ब्यबस्थापन थालेको थियो । ‘फोहोरमैला ब्यबस्थापन ऐनले दिएको अधिकार अनुसार हामी ठेकेदार भन्दापनि सेवा प्रदायक संस्थासँग सहकार्य गरेर फोहोर ब्यबस्थापन गर्ने योजनामा छौ’ अधिकृत श्रेष्ठले भने ‘पहिलो चरणमा केहि वाडहरुमा नमुनाको रुपमा यो कार्य गरिने छ,त्यसपछि सबै वडामा यो कार्य सुरु हुने छ’। कुनकुन वडालाई नमुनाको रुपमा लिने भन्ने बिषयमा केहि दिन भित्रैमा सुचना सार्बजनिक हुने उनले बताए ।

उपमहानगरपालीकाले आगामी आर्थिक बर्षदेखि फोहोर ब्यबस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने गरि सुचना जारी हुने अधिकृत श्रेष्ठले बताए । यसरी फोहोर ब्यबस्थापन गर्दा आउन सक्ने समस्याहरुलाईपनि मध्यनजर गरेर प्रकृया अगाडि बढाउने उपमहानगरपालीकाको तयारी छ । फोहोर ब्यबस्थापन ऐन अनुसार सेवा प्रदायक संस्थाले नै फोहोर ब्यबस्थापनका लािग घर धनिसँग शुल्क लिने छ ।तर शुल्क कति लिने र कसरी लिने भन्ने बिषयमा उपमहानगरपालिकाले सम्झौता गर्नु अगाडि आसय पत्र माग्ने छ । आसय पत्रका आधारमा सेवा प्रदायक छनौट हुने अधिकृत श्रेष्ठले बताए ।सेवा प्रदायक संस्थाले संकलन गरेको फोहोरलाई बर्गिकरण गरि ब्यबस्थापन गर्न सक्ने छ । पुनप्रयोग गर्न मिल्ने फोहोरलाई सेवा प्रदायक संस्थाले आयश्रोतको रुपमा पनि प्रयाग गर्न सक्ने ऐनमा ब्यबस्था छ ।

पुनप्रयोग गर्न नमिल्ने फोहोरलाई उपमहानगरपालीकाले तोकेको स्थानमा ब्यबस्थापन गर्नु पर्ने ब्यबस्था ऐनले गरेको छ । अहिले धरान उपमहानगरपालीकाले धरानको मुख्य बजार क्षेत्रमा दैनिक र अन्य ठाउमा आलोपालो तरिकाबाट फोहोर संकलन गर्दै आएको छ । अहिले संकलित फोहोरलाई धरान–१५ स्थित बाँझगरा सामुदायीक बन र सेउती खेलाको बिचमा रहेको खाली ठाउमा ‘ग्यापिङ वाल’ बनाएर फाल्ने गरिएको अधिकृत श्रेष्ठले बताए । फोहोर ब्यबस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएपछि वातावरणमैत्रि स्थानिय शासनको प्रारुपलाई पनि कार्यान्वयन गर्न सहजता हुने धरान उपमहानगरपालीकाका कार्यकारी अधिकृत बिष्णुप्रसाद कोइरालालेले बताए ।

धरानमा उत्पादनहुने फोहोर मध्ये करिब ७० प्रतिसत जैबिक फोहार रहने भएकाले यसलाई उर्जामा परिणत गर्ने आफुहरुको योजना रहेको उनले बताए । अहिले धरानमा फोहोर ब्यबस्थापनकालागि सबैभन्दा धेरै खर्च हुने भएपनि जनताबाट सन्तुष्टि लिन नसकेको उनले बताए । धरानमा अहिले दैनिक ४० देखि ४३ टन फोहोर उत्पादन हुद्यै आएको छ ।‘अब उपमहानगरपालीका एक्लैले भन्दापनि निजी क्षेत्रसँग सहकार्य गरेर फोहोर ब्यबस्थापन गर्ने प्रयासमा छौं’ कार्यकारी अधिकृत कोइरालालले भने । यसरी फोहोर ब्यबसथापन गर्दा उपमहानगरपालीकाको खर्चपनि बचत हुने र वातावरणमैत्रि स्थानिय शासनको प्रारुपपनि कार्यान्वयन ुहने उनको भनाई छ ।