kakarbhittaबिर्तामोड / पूर्वी नाका काँकडभिट्टाबाट चेलीबेटी बेचविखन कार्य बढेको छ । नाकामा चेलीबेटी बेचविखन नियन्त्रण गर्न क्रियाशील संस्थाहरूको आँकडामा बेचविखन बढेको देखिएको हो । चेलीबेटी बेचविखन नियन्त्रण गर्न काँकडभिट्टामा तीनवटा संस्थाले काम गरिरहेका छन् । ती संस्थाले प्रत्येक दिन प्रलोभनमा पारेर बेच्न लगिएका चेलीहरूलाई भारतीय नाका छिर्ने क्रममा उद्धार गरी परामर्श दिने गरेका छन् । माइती नेपाल, साना हातहरू नेपाल र विश्व सेवा विस्तार संस्था यहाँ क्रियाशील छन् । सन् २०१६ मार्च १ मा स्थापना भएको विश्व सेवा विस्तारले नोभेम्बरसम्ममा १३ देखि ३६ वर्ष उमेर समूहका ३ सय ४६ महिलाको  उद्धार गरेको आँकडामा उल्लेख छ । संस्थाले मार्चमा ३८, अप्रिलमा ४३, मेमा ५१, जुनमा ३६, जुलाईमा ४०, अगस्टमा ३३, अक्टोबरमा १६, नोभेम्बरमा १९ र डिसेम्बरमा ३९ जना महिलाको उद्धार गरेको छ । त्यस्तै माइती नेपालले बेचिएका १८ जना चेलीलाई विभिन्न तेस्रो देशबाट सोही अवधिमा उद्धार गरेर ल्याएको थियो । यो सङ्ख्या गत वर्षभन्दा ५३ जनाले बढी हो । उद्धार गरिएका चेलीहरुलाई अभिभावकको जिम्मा लगाउने गरिएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए । उनका अनुसार बेचिने तथा जोखिममा पर्नेहरू सिन्धुपाल्चोकलगायत पश्चिम पहाडका युवतीहरू छन् । उनीहरूलाई दलालहरूले विभिन्न प्रलोभन देखाएर बेच्ने गरेको उनको भनाइ छ । पछिल्लो समय झापालगायतका दक्षिणी भेगका युवतीहरू पनि दलालको फन्दामा पर्ने गरेका छन् । योसँगै पाँचथर, धनकुटा, मोरङ, भोजपुर क्षेत्रका युवतीहरूसमेत दलालको शिकार बन्ने गरेको संयोजक घिमिरेले बताए । काँकडभिट्टाको इलाका प्रहरी कार्यालयले चालू आर्थिक वर्षमा मानव बेचविखनसम्बन्धी दुईवटा मुद्दा चलाएको जनाएको छ । विशेष गरी मानव तस्करहरूले नयाँ तरिकाबाट नाका कटाउने र फेला परिहाले पनि जोखिममा परेकाहरूले एजेन्टहरूको नाम खुलाउन नचाहँदा समस्या भएको काँकडभिट्टाका डीएसपी दुर्गाराज रेग्मीले बताए ।