बनेपा/काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशतले घटेको अनुमान गरिएको छ । विभिन्न गाविसमा रहेका सुन्तलाको बोटमा क्रमशः पात, हाँगा, डाँठ सुक्ने समस्या देखिएपछि सुन्तला उत्पादन कमी हुने जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जिसीले जानकारी दिए । कृषकले बगैँचा व्यवस्थापनमा ध्यान नदिएकाले खाद्य तत्वको कमी र बगैँचामा काटछाँटको अभावले सुन्तलाको दानाको आकार पनि घटेको उहाँले बताए । जिल्लाको पनौती नगरपालिकास्थित, सुन्थान, खरिबोट, ¥याले, बालुवापाटीलगायतका गाविसमा त्यस्तो समस्या देखिएको छ । ¥याले गाविसका कृषक उपेन्द्र तिमल्सिनाले सुन्तला पाकेर बोटबाट आफैँ खस्ने समस्या देखिएको बताए । उनले कतिपय स्थानमा कृषककै लापर्बाहीले समस्या आएको बताउँदै सुन्तलाको पकेट क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्न माग गरे । सुन्तला उत्पादनमा समस्या देखिएपछि मूल्य पनि घटेकाले यसको मार आफूहरुले सहनु परेको उनले बताए । सुन्तलाको दानाको आकार पनि घटेकाले यसको मूल्य प्रतिकिलो रु १८ देखि रु २५ सम्म पुगेकोे छ । सुन्तलाको पकेट क्षेत्रमा बर्सेनि जिल्ला कृषि विकास कार्यालयले बगैँचा व्वस्थापनलगायतका काममा रु ५० हजारदेखि रु ६० हजारसम्म खर्च गर्दै आएको छ । कार्यालयका अनुसार जिल्लामा कुल एक हजार ३०२ हेक्टर जमिनमा सुन्तालका लागि योग्य जमिन भए पनि गत वर्ष ८८६ हेक्टर जमिनमा १० हजार १५८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । रासस