safaiपाँचकन्या/धरान उपमहानगरपालिका सरसफाई विभागका अधिकृत शिशिर श्रेष्ठ कार्यक्रमस्थलमा दङ्ग र हर्षित मुद्र्रामा देखिन्थे । त्यस्तै, लामो अवधिसम्म सवारी चलाउने चालक शुक्र तामाङ, सरसफाइकर्मी गोविन्द मरिक, कृष्णमाया राई, बालकुमारी सुनारको मुहारमा पनि चमक साथै हर्षको सीमा थिएन । यस्तो पनि किन नहोस् चार पाँच दिनअघि नै आयोजकले सम्मान गर्ने भनेर परिवारसहित उपस्थित हुन उनीहरुलाई निम्तो दिएको थियो ।

धरान–१६ स्थित सियोन मेथोडिष्ट चर्चले ख्रिष्टमस तथा नयाँ वर्षको अवसरमा यस्तो कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सम्मानित भएपछि विभागका अधिकृत श्रेष्ठले आफू दङ्ग मात्रै नभई गर्वले छाती पनि फुलेको बताए । ‘धरान नेपालकै सुन्दर र सफा नगरीको रुपमा परिचित छ । धरानको यो परिचय बनाउन मुख्य भूमिका यहाँको सरसफाइले खेलेको छ’, उनले थपे, ‘तर पनि अहिलेसम्म सरसफाइकर्मीप्रति कसैले ध्यान नदिएको तर आयोजकले यसरी डाकेर सम्मान गर्नु गर्वको कुरा हो ।’ कार्यक्रममा गोविन्द मरिकले धरानका सडकहरु सफा गर्न थालेको धेरै वर्ष बितेको अनुभव सुनाउँदै जीवनमै पहिलोपटक सम्मानित भएपछि आफूलाई सरसफाई गर्न थप प्रेरणा मिलेको सुनाए । सम्मान कार्यक्रममा सरसफाइकर्मीका परिवार पनि उपस्थित थिए । उनीहरु पनि खुशीले गदगद् देखिन्थे । सबै परिवारका लागि रात्रीभोज कार्यक्रम पनि आयोजना गरिएको थियो । परिवारका कुनै सदस्य छुटेका थिएनन् । कार्यक्रममा सम्मानित कृष्णमाया राईले भनिन्, ‘हामी सबै परिवारका करिब १ सय ५० जना उपस्थित छौं ।

परिवारसहित यसरी सम्मान कार्यक्रम राख्दा पछिल्लो पिंढीले पनि बुझ्नेछन् ।’ कार्यक्रममा पाष्टर खड्गबहादुर थापा मगर, धरान क्रिष्टियन समाजका अध्यक्ष पाष्टर सूर्यबहादुर तामाङ लगायतले उनीहरुलाई सम्मान गरेका थिए । पूर्वाञ्चलको सुन्दर नगरीका रुपमा परिचित धरानलाई सफा राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान कार्यक्रम आयोजना गरिएको पूर्वाञ्चल इसाई समाजका महासचिव मेहरमान ह्युज गिरीले जानकारी दिए । ‘देशैभरि डेंगु फैलिइरहेको अवस्थामा पूर्वको धरानमा भित्रिएपनि सरसफाइको कारणले त्यति साह्रो छैन’, उनले कार्यक्रमस्थलमा भने, ‘धरानमा सरसफाइकर्मीको भूमिका अतुलनीय रहेको छ । सरसफाइकमीप्रति कुनै निकायले नजर पु¥याएको छैन ।

त्यसैले कार्यक्रमको आयोजना गरेका हौं । कार्यक्रममा उनले डेंगुलाई नियन्त्रणमा सरसफाइकर्मीको भूमिका महत्वपूर्ण हुने सुझाव दिए । कार्यक्रममा खड्गबहादुर थापा मगरले भने, ‘अहिलेसम्म यस्तो कहीँ देखिएन, त्यसैले यस्तो कार्यक्रमले उहाँहरुले मात्रै होइन हामीलाई पनि आत्मसन्तुष्टि मिलेको छ ।’ देशका विभिन्न नगरपालिकामध्ये आधारभूत सरसफाइ र पूर्वाधार विकासका आधारमा हेर्दा धरान सुन्दर र सफाको उपमा पनि पाएको छ । सरसफाई अधिकृत शिशिर श्रेष्ठका अनुसार धरान क्षेत्रमा दैनिक ४० टन फोहोर उत्पादन हुने गरेको छ ।