धरान/केही दिनयता बढेको बाक्लो हुस्सुका कारण पूर्वी तराईका जिल्लाको जनजीवन थप कष्टकर बन्दै गएको समाचारदाताहरुले जनाएका छन् ।

विराटनगर संवाददाताका अनुसार मङ्गलबार बिहानैदेखि शीतलहरसँगै चिसो हावा चलेको छ । मानिसहरु चिसोबाट जोगिन चोकचोकमा आगो बालेर ताप्न थालेका छन् । विगतका वर्षको तुलनामा यो वर्ष छिटो शीतलहर चलेको अनुभूति तराईका बासिन्दाले गरेका छन् । पुस मध्यतिरबाट शुरु हुने शीतलहर अगाडि नै शुरु भएपछि जिल्ला प्रशासन कार्यालयले दाउरा वितरण आदि काम अहिले गरेको छैन । पछिल्लो साताबाट तापक्रम घटेर १०–१३ डिग्री भएपछि समस्या देखिन थालेको हो ।
मङ्गलबार बाक्लो हुस्सुका कारण विराटनगर विमानस्थल खुलेन । विमानस्थल नखुल्दा विराटनगरबाट हुने सबै उडान रद्द भए । ऊर्जामन्त्री जनार्दन शर्मा अपराह्न ३ बजेको उडानबाट काठमाडौँ फर्किने कार्यक्रम रहेकोमा उनले मङ्गलबार विराटनगरमै बस्ने गरी टिकट रद्द गरेका छन् ।
यसैगरी मौसम परिवर्तनसँगै तीन÷चार दिनयता एक्कासी बढेको शीतलहर तथा बाक्लो हुस्सुका कारण सप्तरीको जनजीवन पनि कष्टकर बनेको छ । सप्तरी सदरमुकाम राजविराजमा चहलपहल निकै घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको राजविराज–४ का मुकेश यादवले बताएको संवाददाताले जनाएका छन् ।
जिल्लाको एक मात्र सरकारी अस्पताल राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका बिरामी पनि चिसोबाट प्रभावित भएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा खासगरी निमोनिया, खोकी, घाँटी दुख्नेजस्ता समस्याबाट पीडित बालबालिका र वृद्धवद्धा आउन थालेका छन् । यस्तै, कोल्ड डायरिया र दमका बिरामीको चाप बढेको चिकित्सकले बताए । यस्तै, चिसो छल्न राजविराजका विभिन्न चोकमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ भने सवारी साधनमा यात्रुको चाप पनि घटेको छ । विभिन्न सरकारी कार्यालयमा पनि सेवाग्राहीको उपस्थितिसमेत न्यून देखिएको छ ।
यस्तै, सिरहा संवाददाताका अनुसार लगातार एक सातायता चलेको शीतलहरका कारण सिरहाको जनजीवन पनि प्रभावित भएको छ । जाडोबाट जनजीवन कष्टकर बन्दै गएपछि इलाका प्रहरी कार्यालय तथा सशस्त्र प्रहरीको गोलबजार बेसक्याम्पले सर्वसाधारणका लागि सार्वजनिक स्थलमा मङ्गलबार दाउरा वितरण गरेको छ । गोलबजार क्षेत्रमा दाउरा वितरणपछि स्थानीयले राहत महसुस गरेका छन् । प्रहरीले गोलबजार, चोहर्वा, कसहाका बस बिसौनी र मानिसको आउजाउ बढी हुने स्थानमा दाउरा वितरण गरेको जनाएको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिले जिल्लाका सबै नगरपालिका तथा गाविसलाई आवश्यक दाउरा वितरण गर्न तथा गरीब, असहाय र वृद्धवृद्धालाई कम्बल वितरण गर्न पनि परिपत्र जारी गरेको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जनाए । मङ्गलबार पनि जाडो धेरै बढेको छ । यस्तै अवस्था रहे स्थानीय निकायलाई निर्देशन दिएर सर्वसाधारणका लागि दाउरासँगै आवश्यक न्यानो कपडाको व्यवस्था मिलाउन निर्देशन दिने उनले जनाए । साथै जिल्ला प्रशासन कार्यालयले जाडोको समयमा धेरै समय बाहिर नबस्न, न्यानो कपडा लगाउन तथा सुरक्षित स्थानमा बस्न सार्वजनिक सूचना जारी गरेको छ ।