सङ्खुवासभा/खाँदबारी नगरपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । लामो समय नगरपालिकामा कार्यकारी अधिकृत नहुँदा जनताले सास्ती व्यहोर्नुपरेको भन्दै युवा सङ्घले सोमबार तालाबन्दी गरेको हो । सङ्घद्वारा जारी विज्ञप्तिमा लामो समयदेखि कार्यकारी अधिकृत नहुँदा हजारौँ सेवाग्राही मारमा परेको र विकास निमार्णका कार्यहरु अवरुद्ध भएको बताइएको छ । अधिकृत नहुँदा नगरवासीले असुविधा र सास्ती व्यहोर्नुपरेको बताउँदै सङ्घका जिल्ला सचिव युवराज याम्पूmले यस विषयमा लामो समयदेखि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि बेवास्ता भएकोले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको जनाए । खाँदबारी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत दिनेश कट्टेलले करीब पाँच महिना कार्यकारीविहीन हुनुमा कर्मचारीको सरुवा गर्ने जिम्मेवार निकाय स्थानीय विकास मन्त्रालयको बेवास्ता भएको आरोप लगाए । अधिकृत नहुँदा विकास निर्माणमा बाधा पुगेको उनले स्वीकार गरे । मन्त्रालयले करीब डेढ वर्ष अगाडिदेखि नगरपालिकाप्रति अनुत्तरदायी व्यवहार गरेको आरोप लगाए । यसैबीच जिल्लामा क्रियाशील पाँचवटा साना राजनैतिक दलले संयुक्त विज्ञप्ति जारी गरी नगर प्रमुख नहुँदा सेवाग्राहीहरु मर्कामा परेको भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी र सङ्घीय लिम्बूवान मञ्च नेपालले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन् ।