यो ग्राफ स्वास्थ्य खबरबाट लिइएको हो ।[/caption]
धरान /स्वास्थ्य मन्त्रालयले पुष १ गतेदेखि सम्पूर्ण अस्पताललाई अनिवार्य रुपमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्री गगन थापाले मन्त्रालयमा पत्रकार सम्मेलन गरी यस्तो निर्देशन दिएका छन् । जुन सेवाका लागि मन्त्रालयले स्पष्ट अवधारणा बनाएको छ ।
निजी अस्पतालको १० प्रतिशत निःशुल्क उपचार सेवाग्राहीमा विपन्न, वेवारिसे र असहाय नागरिक छन् । सेवा लिनका लागि गाविस वा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, स्वास्थ्य मन्त्रालय र काठमाडौंको हकमा वीर अस्पतालको सिफारिस चाहिने छ ।
निःशुल्क उपचार सेवा अन्तर्गत चिकित्सकको परामर्श, प्रयोगशाला शुल्क, शैया शुल्क, नर्सिङ शुल्क, अस्पतालमा उपलब्ध डाइग्नोष्टिक शुल्क र अक्सिजन रहेका छन् ।
सेवा दिए र नदिएको जानकारीका लागि अस्पतालले बिरामीसँग स्वयं घोषणा फारम भएर त्यसको रेकर्ड सम्बन्धित निकायमा पठाउनुपर्नेछ । बिरामी भर्ना हुनासाथ विपन्न, वेवारिसे र असहाय बिरामीको लागि निःशुल्क शैया लेखेका स्टिकर शैयामा टाँसिएको र झुण्ड्याइनु पर्नेछ । अस्पतालको बिरामी सूचना बोर्डमा पनि निःशुल्क सेवा लिइरहेका बिरामीहरुको विवरण राख्नुपर्नेछ ।
शुशासन ऐन २०६४ को दफा ४५ अनुसार स्वास्थ्य संस्था स्थापना, सञ्चालन र स्तरोन्नति मापदण्ड सम्बन्धि निर्देशिका २०७० बमोजिम सबै स्वास्थ्य संस्थाहरुले कुल शैयाको १० प्रतिशत शैयामा विपन्न, बेवारिसे, असहाय बिरामीलाई निशुल्क प्रदान गर्नुपर्ने व्यवस्था छ । यति मात्रै होइन, यसको अभिलेख राख्ने र मन्त्रालयमा प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था समेत छ जुन स्वास्थ्य संस्थाहरुले कार्यान्वयन गरेका थिएनन् । यस विषयमा धेरै सेवाग्राहीले जानकारी नपाएको अवस्था छ भने जानकारी पाएकाले पनि कसरी लिने भन्ने स्पष्ट थिएन ।
त्यसैले यो सेवा प्रभावकारी बनाउन मन्त्रालयले पहल थालेको हो । मन्त्रालयले १० प्रतिशत निशुल्क उपचार सेवा प्रदान गर्न यसअघि कार्तिक १४ गते सार्वजनिक सूचना निकालेको थियो । हाल निःशुल्क सेवाका लागि फारामहरु निर्माण गरेर सबैलाई पठाइसकेको बताएको छ । निजी स्वास्थ्य संस्थाहरुको छाता संगठन अफिनले यसका लागि प्रतिबद्धता व्यक्त गरेको मन्त्री थापाले बताए । उनले भने, ‘निजी स्वास्थ्य संस्थाका सञ्चालकहरुले पनि सहमति जनाइसकेकाले यो कार्यान्वयन हुन्छ ।’ठूला अप्रेशन र औषधीका विषयमा भने छलफल भइरहेको मन्त्री थापाले बताएका छन् । स्वास्थ्य खबर