sadak-bandaभद्रपुर/सडक शिलान्यास भएको साढे दुई महिना बित्न लाग्दासमेत स्थानीय प्रशासन, हुलाकी राजमार्ग आयोजना र ठेकेदार कम्पनीको लापर्वाहीका कारण निर्माण कार्य सुचारु नभएको भन्दै आक्रोशित युवा समूहले सडकमा अवरोध गरेको छ ।

झापाको सहायक लोकमार्गअन्तर्गत चारआली–केचना सडकखण्ड निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै भद्रपुरका युवाले आइतबार दिउँसो एक घण्टा सडक अवरुद्ध गरेका हुन् । सन्तोष क्षेत्रीको नेतृत्वमा भेला भएका युवाले भद्रपुरका भानुनगर, सङ्गमचोक र सगरमाथा चोकमा बाँस तेस्र्याएर अवरोध खडा गरेका थिए । अवरोधका कारण सवारी साधन बीच बाटैमा रोकिएका थिए । प्रहरीले युवालाई सम्झाएर अवरोध हटाएपछि मात्र सडक सुचारु भएको थियो ।

झापाको सदरमुकामलगायत दक्षिणी गाविस जोड्ने सडक लामो समययता नबनेर स्थानीयले सास्ती पाइरहँदा पनि सम्बन्धित पक्ष मौन बसेकाले बाध्य भएर सडक बन्द गर्नुपरेको स्थानीय त्रिलोचन पाण्डेले बताए । यसपछि पनि सम्बन्धित पक्षले निर्माण कार्य सुचारु नगरे भद्रपुरको सडक नै ठप्प पार्ने उनले चेतावनी दिए । झापाको उत्तर–दक्षिणी गाविसका स्थानीयको चार दशकदेखिको मागलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले गत असोज १३ गते झापाचोकमा चारआली–केचना र भद्रपुर–राजगढ सडकखण्डको एकैसाथ शिलान्यास गरेका थिए । शिलान्यास कार्यक्रममा सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी, सांसद् कृष्णप्रसाद सिटौलालगायत उपस्थित थिए ।

चारआली–केचना ४० किलोमिटर कालोपत्रेअन्तर्गत २० किलोमिटरको ठेक्का कालिका, कन्काई र याकथुमहाङ जेभीले लिएको हुलाकी राजमार्ग आयोजनाको इटहरीस्थित योजना कार्यालयले जनाएको छ । याकथुमहाङ निर्माण कम्पनीका ठेकेदार तेजकुमार कुरुङबाङले स्थानीयले सहयोग गरे ३० महिनाभित्र निर्माण कार्य सम्पन्न गरिने बताएका थिए ।

हुलाकी राजमार्ग आयोजनाको इटहरी योजना कार्यालयका प्रमुख शैलेन्द्र त्रिपाठीले सो सडक निर्माणका लागि आयोजनाका इन्जिनियर उपेन्द्र दास, ठेकेदार कम्पनीका इन्जिनियरलगायतको टोली आइतबार नै झापा पुगिसकेको बताए । टोलीले केचना–चारआली सडकखण्डको कन्स्ट्रक्सन सर्वे यही साताभित्र शुरु गरी चाँडै निर्माण कार्य सुचारु गरिने उनले बताए ।