तरहरा/आज शुक्रबार भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । तर नेपालमा भने दिनानुदिन भ्रष्टाचार बढिरहेको छ । भ्रष्टाचार नियन्त्रणको लागि अख्तियारले काम थोरै र हल्ला मात्र धेरै गर्ने गरेको सामाजिक अगुवाहरु बताउँछन् । भ्रष्टाचारको अभियोगमा सानातिना कर्मचारीलाई पक्राउ गरेपनि ठूला भ्रष्टाचारीसम्म अख्तियार पुग्न नसकेको उनीहरुको आरोप छ । इटहरीका नागरीक अगुवा प्रा. डा. बद्रीविशाल पोखरेल नेपालमा भ्रष्टाचार अत्यधिक बढिरहेको बताउँछन् ।
नेपालमा अचाक्ली बढिरहेको भ्रष्टाचार रोक्न ठूला भ्रष्टाचारीहरुलाई कार्वाहीको दायरामा ल्याउनु पर्ने उनको भनाइ छ । भ्रष्टाचार रोक्न अख्तियारले महत्वपूर्ण भूमिका नखेलेको भन्दै उनले खरदार, बहिदार समातेर मात्र भ्रष्टाचार नरोकिने बताए । माथिल्लो निकायका भ्रष्टाचारीलाई कार्वाहीको दायरामा ल्याउन सक्नुपर्ने पोखरेल बताउँछन् ।इटहरीका नागरीक अगुवा तथा राष्ट्रिय जागृति क्लबमा अध्यक्ष सञ्जीव ढुङ्गानाले भ्रष्टाचार रोक्न सरकारी निकायका सबै तहका कर्मचारीहरुलाई सुधार्नु पर्ने बताए । अख्तियारले झिनामसिना कुरामा अल्झिएर तल्लो स्तरका कर्मचारी र व्यक्तिलाई दुःख मात्र दिने गरेको तर वास्तविक भ्रष्टाचारीसम्म पुग्न नसकेको उनको भनाइ थियो । भ्रष्टाचारका नाइकेहरुलाई कार्वाही नगरेसम्म केही नहुने उनले थपे ।लिम्बुवानका नेता केदार उप्रेतीले नेपालमा भ्रष्टाचार क्यान्सर रोग जस्तै भएको बताए ।
भ्रष्टाचार रोक्न जनता आपैंm सचेत हुनुको विकल्प नभएको भन्दै अख्तियारको हल्लाले केही आशा जागेपनि अख्तियारको काम सन्तोषजनक नभएको उनी बताउँछन् । ‘सानातिना कर्मचारी पक्राउ पर्छन्, ठूला कर्मचारीलाई छुने आँटसम्म गरेको छैन’, उनले भने । धरानका विद्यार्थी नेता सागर प्रसार्इंले पनि अख्तियारले साना र ठूला कर्मचारीलाई हेर्ने नजर एउटै बनाउनु पर्ने बताए । ‘अख्तियारलाई पनि प्रपोज आए डकुमेण्ट पुगेन भन्दै मुद्दा नै अगाडि बढ्दैन’, उनले भने ।अख्तियार क्षेत्रीय कार्यालयका प्रवक्ता रामजी कटुवालले भ्रष्टाचारको उजुरी दिनानुदिन बढिरहेको बताए ।
गत वर्षभन्दा यो वर्ष विशेष अदालतमा धेरै मुद्दा दायर भएको उनले बताए । उनले भ्रष्टाचार गर्नेहरु विरुद्ध अख्तियारले मुद्दा दायर गरीनै रहेको जनाए । अनुसन्धानको दायरामा ल्याएर प्रमाण जुटाउने काममा सक्रिय भइरहेको प्रवक्ता कटुवाल बताउँछन् ।भ्रष्टाचार विरुद्ध काम गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलको अघिल्लो वर्षको प्रतिवेदनमा भ्रष्टाचार हुने विश्वका १ सय ७४ मुलुकमध्ये नेपाल १ सय २६ औं स्थानमा रहेको उल्लेख थियो । डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक हो भने अफ्रिकी देश सोमालियामा सबैभन्दा बढी भ्रष्टाचार हुन्छ । दोस्रो बढी भ्रष्टाचार हुने मुलुकमा उत्तर कोरिया रहेको छ ।